पर्वतका अनिश गोरखाका लिगलिगे राजा

गोरखा, २२ असोज /गोरखामा सञ्चालन भएको सातौं लिगलिगे दौड प्रतियोगिताको उपाधि पर्वतका अनिश थापा मगरले जितेका छन् । मगरले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच पुरस्कार जितेका छन् । गोरखाको मस्र्याङ्दी र चेपे दोभानबाट आँपपिपलको लिगलिगकोट सम्मको दूरी उनले ५६ मिनेट १८ सेकेण्डमा पूरा गरेका थिए ।

त्यस्तै गोरखा मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेण्डमा दौड पूरा गरेर दोस्रो पुरस्कार जितेका छन् । उनले ३० हजार ३ सय ५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । नेपाली सेनाका कृष्ण बस्नेत ५८ मिनेट २६ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानले जनाएको छ । उनले नगद २० हजार दुई सय ५ रुपैयाँ पुरस्कार हात पारे । सातौं हुनेसम्मलाई पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै, खुल्ला महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएको आयोजक संस्थाका मित्र देवकोटाले जनाकारी दिए । उनले ४० मिनेट दुई सेकेण्डमा दौड पूरा गरेसँगै १५ हजार ५ रुपैयाँ पुरस्कार पाएकी छिन् । नेपाली सेनाकी सानुमाया कार्की द्वितीय र चन्द्रा राउत तृतीय भएका हुन् । उनीहरुले क्रममा १० हजार ५ र ५ हजार ५ रुपैयाँ पुरस्कार पाउनेछन् । कार्कीले ४२ मिनेट १५ सेकेण्ड र राउतले ४२ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरेका हुन् ।

स्थानीयबासिन्दा तर्फको दौडमा पालुङटार–११ का राजन नेपाली पहिलो, वडा नम्बर ७ का मनिष राना दोस्रो र १३ का सन्देश शाही तेस्रो भएका हुन् । उनीहरुले पनि खुल्ला महिलातर्फको जस्तै पुरस्कार राशि पाएका छन् । खुल्ला पुरुष, महिला र स्थानियवासीतर्फ गरी दौडमा एक सय ४३ जना सहभागी रहेको देवकोटाले बताए । दसैंको फुलपातीको अघिल्लो दिन प्रतियोगिता हुँदै आएको छ ।

नेपाल एकीककरण अघिको बाईसे चौविसे साना राज्यहरु मध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्रय पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । विसं १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुन निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदय पछि तत्कालिन समयमा दौडको अन्त्य भएको थियो । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर बिजयी भई राजा भएको जनविश्वास छ ।

कमेन्टहरु
Loading...