कार्यक्रममा भागलिन लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने युरोप प्रस्थान

पोखरा २० असोज/नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, छठ, नेपाल सम्बत्का अवसरमा देश र विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना भैरहेका छन् । यस्ता कार्यक्रममा भाग लिन नेपाली साँगीतिक क्षेत्रका कलाकार व्यस्त छन् ।

यसै क्रममा चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने बुधबार युरोप प्रस्थान गरेका छन् । युरोपका विभिन्न शहरमा आयोजना हुने बडा दशैँ लोक दोहोरी धमाकामा सहभागी हुन उनी युरोपतर्फ लागेका हुन् । बुधबार राती कतार एयरवेजबाट काठमाण्डौ–दोहा–डेनमार्क हँुदै फिनल्याण्ड लागि उनी श्रीमती भगवती न्यौपानेसँगै युरोप तर्फ गएका हुन् ।

उनी एक महिना युरोप भम्रणमा रहनेछन् । एक महिने युरोप बसाईका क्रममा फान्स, स्पेन, बेल्जियम, पोर्चुगल, जर्मन, फिनल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी जनाउने तय भएको छ । न्यौपानेले तिहार जर्मनमा श्रीमतीको भाई अनिश भट्टराईकोमा मनाउनेछन् । तिहार मनाएर उनी नेपाल फर्कने कार्यक्रम रहेको उनले बताए । युरोपमा हुने कार्यक्रममा न्यौपानेले आफ्ना चर्चीत साँगीतिक कोशेली दर्शकहरुलाई सुनाउने छन् ।

वि.सं. २०४६ सालमा ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपाने विदेशमा रहेका नेपालीसँग यसपालि दशैँ तिहार मनाउने अवसर पाएकोमा खुशी छन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष न्यौपानेका हालसम्म पाँचसय भन्दा बढी गीत दर्शक श्रोता माझ आइसकेका छन् । लोकदोहोरी पारखीलाई मन्त्रमुग्ध पारी साँगीतिक तृष्णा मेटाउन सक्ने खुबी उनको आवाजमा रहेको छ । उनका मिर्मि मुनि काली थुनेको, ढुंगे धारामा, घाम जस्तो चम्किलो, पानि घट्टमा लगायतका गीत दर्शकश्रोताले अत्याधिक रुचाएका थिए । उनी सँगै गायक प्रमोद खरेल समेत युरोप प्रस्थान गरेका छन् ।

कमेन्टहरु
Loading...