तमु धिं नेपालको अध्यक्षमा पुन कर्म तमु

पोखरा, १८ असोज/तमु जातिको पुरानो साझा संस्था तमु धिं नेपालको सोमवार सम्पन्न ३२ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनले पुनः जोगीमणी तमु समाजकी कर्म तमुको अध्यक्षतामा आगामी चारवर्षका लागि पदाधिकारी निर्विरोध चयन गरेको छ ।

धिंको प्रथम उपाध्यक्षमा सोंपाल तमु समाजकी सरस्वती तमु, द्धितिय उपाध्यक्षमा चारभञ्ज्याङ तमु समाजका हुमबहादुर तमु, महासचिवमा दीप तमु समाजका गिरीप्रसाद तमु, सचिवमा मिलीजुली विजयपुर तमु समाजकी जुनाकुमारी तमु, सहसचिवमा फिर्के तमु समाजका तर्फबाट दुर्गाबहादुर तमु, कोषाध्यक्षमा दुधपोखरी तमु समाजका सुवेदार मेजर श्रीप्रसाद तमु र सहकोषाध्यक्षमा तमु सहयोग समिति पार्दीका सुवेदार तुलबहादुर तमु चयन हुनुभएको छ।

आगामी नेतृत्वका लागि निर्वाचन समितिले कार्यतालिका अनुसार उम्मेदार आव्हान गर्दा पदाधिकारीको सम्पुर्ण पदमा एकल उम्मेदवारी दर्ता भई निर्विरोध भए पनि अधिवेशनमा निर्वाचन समितिका सदस्य अम्बरबहादुर तमुले निर्विरोध भएको आधिकारीक घोषणा गर्नुभएको हो । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक गणेशबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

निर्वाचित पदाधिकारीहरुलाई समाजहरु तर्फबाट र सहभागीहरुले फूल, माला, खादाद्धारा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरिएको थियो । यस अघि साधारणसभा तथा अधिवेशनको विश्वयुद्धका योद्धा परिवारका जेष्ठ नागरिक १०३ वर्षिय श्रीकुमारी तमुले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि रामबजारकी श्रीकुमारी तमुलाई घलेक, विशेष अतिथि याङ्जाकोट तमु समाजका विश्वयुद्धका योद्धा १०३ वर्षिय लालबहादुर तमु र अमरसिंहका ९८ वर्षिय कुलबहादुर तमुलाई भाङ्ग्रा र खादाद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित गुरुङ पर्यटन व्यवसायी संघ पश्चिमाञ्चलका कार्यसमिति, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष लगायत कार्यसमिति, आदिवासी हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषदाता योगेश गुरुङ र मीना गुरुङ, तमु सहयोग समिति पार्दीका निर्वतमान अध्यक्ष क्या.चेतबहादुर गुरुङ, सोंपाल तमु समाजका निवर्तमान अध्यक्ष क्या.धनबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...