सागर राज तिमिल्सिना
पोखरा, १६ असोज/पोखरा जगदम्बा ट्राभल्सले शनिवार देखि अत्याधुनिक सुविधायुक्त अति विशिष्ट भिआईपि बस सेवा सुरु गरेको छ । ट्राभल्सले ‘मिनीबार, शौचालय, वास बेसिन सहितको बस सेवा शनिवार देखि काठमाडौं–पोखरा रुटमा सञ्चालन सुरु गरेको हो ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत उक्त बस सञ्चालन भएको सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए । उनले अहिले दुईवटा बसबाट सेवा सुरु गरेको बताए । एउटा बसको मूल्य करीब १ करोड रुपैयाँ परेको अधिकारीले जानकारी दिए । ‘बस ठूलो भएपनि मिनीबार र शौचालय भएका कारण २८ सिट क्षमतामात्र रहेको बताए ।
उनले बसलाई सकेसम्म स्तरीय र आधुनिक बनाएर सेवा सुरु गरेको बताए । सिटलाई यात्रुले खुट्टालाई पनि आरामसँग राख्न सक्ने खालको निर्माण गरेको अधिकारीले बताए । यात्रुको चाहना अनुसार चिया, कफी र चिसो सिटसम्म नै पु¥याएर सेवा उपलब्ध गराउँछौं,’ उनले भने । यात्रुको सेवाका लागि ‘बस क्रियु’को व्यवस्था गरिने अधिकारीले जानकारी दिए । बसमा निःशुल्क वाइफाइ, पानी, जुस र टिभीको सुविधा रहेको छ ।
खाजा, चिया, कफी र पानी बसभित्रै प्रदान गरिने भएकाले बाटोमा खाना खानमात्र बस रोकिने अधिकारीले बताए । बसको एकतर्फी भाडादर नेपालीका लागि १ हजार ५ सय र विदेशीका लागि २ हजार रुपैयाँ कायम गरिएको उनले बताए ।
‘एसी’ र ‘हिटर’को सुविधा रहेको छ । पोखरा लेकसाइडबाट १० बजे र अमरसिंह चोकबाट ११ बजे काठमाडौका लागि छुट्ने उनले बताए । त्यसै गरि काठमाडौको कलंकीबाट विहान ११ बजे छुट्ने बताए । बसको शनिबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्घाटन गरे ।




