अखिल नेपाल खेलकुद महासंघको शुभकामना आदानप्रदान

पोखरा, १५ असोज/अखिल नेपाल खेलकुद महासंघ कास्कीले आज घटस्थापनाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको पर्व विजयादशमी, तिहार, छठ, इद २०७३ र नेपाल संवत ११३७ को अवसरमा महासंघले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले चाडवाडमा माद्यकपदार्थको प्रयोग बढी गर्दा अपराधिक क्रियाकलाप र दुर्घटना जस्ता खतरा हुने भएकोले माद्यकपदार्थ सेवन नगर्न आग्रह गर्नुभयो । वडा दशैँ सबै समुदायको चाड बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

माओवादी केन्द्रका प्रदेश नं. ४ का ईन्चार्ज हरि अधिकारी ‘कुमार’ ले चाडपर्व तडकभडक रहित मनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका पूर्व अध्यक्ष दिपक कोइराला र पूर्व सांसद राजकाजी गुरुङले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय उपाध्यक्ष हरि खड्काको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष बलराम सुवेदीले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...