प्रदेश नं ४ को आ.व. २०७२/७३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

मिति २०७३ साल असोज १३ देखि १४ गतेसम्म सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री केदार बहादुर अधिकारीज्यूको प्रमुख आतिथ्य तथा मन्त्रालयका सह-सचिव श्री मधु सुदन बुर्लाकोटीज्यूको अध्यक्षतामा प्रदेश नं ४ को आ.व. ०७२।७३ मा स्थानीय निकायहरुद्वारा सम्पादित कार्यहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी पोखरामा सम्पन्न भयो । प्रदेश नं ४ अन्तर्गतका जिल्ला विकास समितिहरुका स्थानीय विकास अधिकारी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत तथा जिल्ला प्राविधिक कार्यालयहरुका प्रमुख जिल्ला इन्जिनियर र  नगरपालिकाहरुका कार्यकारी अधिकृतका साथै मन्त्रालय र अन्तर्गतका विभाग, स्थानीय निकायसँग सम्बन्धित निकायका प्रतिनिधि लगायत संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको समुद्‌घाटन सत्रमा मन्त्रालयका उप-सचिव श्री गुरु प्रसाद सुवेदीले स्वागत मन्तव्यका साथ गोष्ठीको उद्देश्य माथि प्रकाश पार्नुभयो । सोही क्रममा मन्त्रालयका सचिव श्री केदार बहादुर अधिकारीज्यूले उक्त समीक्षा गोष्ठी कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

FY 2072-73 annual progress presentation by local bodies
FY 2072-73 annual progress presentation by local bodies

समुद्घघाटन सत्र पश्चात् कार्यक्रम सत्रमा सबै जि.वि.स. र न.पा.हरुबाट समीक्षा अवधिमा सम्पन्न भएका कार्यहरुको प्रगति, देखिएका प्रमुख समस्याहरु र  समाधानका लागि भएका प्रयास एवं भावी कार्यक्रम तथा नीतिहरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो । मन्त्रालयका सह-सचिवज्यूहरुको संयोजकत्वमा रहेको सहजीकरण समूहले स्थानीय निकायबाट प्रस्तुत भएको प्रस्तुतीकरणमा उठेका प्रमुख सवालहरु र अनुकरणीय कार्यहरुको निष्कर्ष तयार गराई प्रस्तुति गरिएको थियो । साथै सहभागीहरुका तर्फबाट उठाइएको जिज्ञासाहरुको विषयमा मन्त्रालयका सह-सचिव र विभागका उप-महानिर्देशक/निर्देशकहरुले नीतिगत व्यवस्था सहित आगामी दिनमा गर्नुपर्ने थप कार्यका सम्बन्धमा जानकारी गराउनु भयो ।

उक्त दुई दिने गोष्ठीको अवलोकन गर्दै मन्त्रालयका सचिव श्री केदार बहादुर अधिकारीज्यूले स्थानीय निकायहरुबाट प्रदान गरिने सेवा प्रवाहमा एकरुपता हुनुपर्ने, विगतका कमीकमजोरीहरुलाई सिकाईको रुपमा लिएर आगामी दिनहरुमा सच्याउदै जानुपर्ने तथा प्राकृतिक सम्पदाको उपयोगलाई अघि बढाउदै दिगो विकासका लागि सोच्न सबै स्थानीय निकायहरुलाई निर्देशन प्रदान गर्नुका साथै आसन्न बडा दशैको अवसरमा सबै सहभागीहरुलाई शुभकामना समेत दिनुभयो । यसैक्रममा मन्त्रालयका सह-सचिव श्री रेश्मीराज पाण्डेज्यूले आ.व.२०७३/०७४ को अनुगमनका लागि  मन्त्रालयबाट कार्ययोजना तयार भईसकेको बताउदै सहरी विकास तथा भवन निर्माण मापदण्डको पूर्ण परिपालना गर्न, एकीकृत सम्पति करको प्रभावकारीरुपमा लागू गर्नेतर्फ पहल गर्न र नजिकिदै गरेको दशै लगायतका चाडपर्वको अवसरमा खाद्य अनुगमनको कार्यलाई समेत तिव्रता दिन स्थानीय निकायका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

FY 2072-73 DDC Kaski awarded by MoFALD
FY 2072-73 DDC Kaski awarded by MoFALD

उक्त गोष्ठीको समापन समारोहका अवसरमा कार्यक्रमका प्रमुख अतिथि माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री हितराज पाण्डेज्यूले नेपालको संविधानको कार्यान्वयन गर्ने उद्देश्यले ७ वटै प्रदेशमा अलग अलग रुपमा बार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको बताउदै सरकारका तर्फबाट पूरा गर्नुपर्ने कार्यहरु सुशासन प्रवर्द्धन तथा सामाजिक रुपान्तरण हुने गरी जिम्मेवारीपूर्ण ढंगले कार्य गर्ने तर्फ सबै स्थानीय निकायहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले विकास निर्माणको कार्य र सेवा प्रवाहलाई प्रभावकारी एवं नतिजामुखी बनाउन निरीक्षण, अवलोकन, अनुगमन तथा मूल्यांकन र कार्ययोजना बनाउनु पर्ने विषयलाई गम्भिरतापूर्वक लिन सबै अधिकारीहरुलाई निर्देशन दिनुभयो । प्रभावकारी जनशक्ति ब्यवस्थापनले मात्र कार्यसम्पादनमा प्रभावकारिता ल्याई नतिजादिने भएकोले सो तर्फ समेत सजग हुन विशेष जोड दिदै गोष्ठीलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र कार्य गर्ने मन्त्रालयका आयोजक समूहलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो ।

स्रोत: सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्रदेश नं ४ को आ.व. २०७२/७३ को वार्षिक प्रगति समीक्षा गोष्ठी, प्रेस विज्ञप्ति

कमेन्टहरु
Loading...