युवा उद्यमी मञ्चद्वारा सोलार सिस्टमसहित कम्प्युटर सहयोग

पोखरा, १३ असोज /नेपाली युवा उद्यमी मञ्च पोखराले कास्कीको कृस्तिस्थित बक्रेक प्राविलाई सोलार सिस्टम सहितको १ थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको छ । सामाजिक भावनाका साथ विद्यालयलाई कम्प्युटर सहयोग गरिएको मञ्चका महासचिव (प्रोग्राम चेयर) सन्तोष घिमिरेले जानकारी दिए ।

गत वर्ष गएको भूकम्पबाट उक्त विद्यालय क्षतिग्रस्त भएको थियो । भूकम्पले विद्यालय भवन भत्किएपछि मञ्चकै सक्रियतामा तत्काल अस्थायी टहरा निर्माण गरिएको थियो । मञ्चले गत वर्ष नै २ कोठाको पक्की भवन बनाएर विद्यालयलाई हस्तान्तरण समेत गरिसकेको छ ।

महासचिव घिमिरेको संयोकत्वमा आयोजित कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि थापाले युवा उद्यमीहरुको सहयोगले विद्यालयलाई धेरै राहत भएको बताए । कम्प्युटर हस्तान्तरण कार्यक्रममा मञ्चका निबर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य प्रकाशदेव पालिखे, मञ्चका अध्यक्ष सरोज श्रेष्ठ, उपाध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ, कोषाध्यक्ष पुनित बैद्य, सदस्य सुरेश मल्ल लगायत सहभागी थिए ।

मञ्चले प्रदान गरेको कम्प्युटरको सही सदुपयोग गरी विद्यार्थीलाई प्राविधिक ज्ञान सिकाउन प्रयोगमा ल्याउन घिमिरेले आग्रह गरे । ‘आगामी दिनमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिन्छौं,’ उनले भने । मञ्चले गत वर्ष बक्रेक प्राविसँगै ल्वाङघलेल–९ सिदिङस्थित सरस्वती निमाविको बाल विकास केन्द्रको भवन पनि पुनर्निर्माण गरेको थियो ।

कमेन्टहरु
Loading...