सहाराको सहाराले गोरखामा स्कुल

पोखरा, १३ असोज/अघिल्लो बर्षको महाविनासकारी भूकम्पमा ढलेको गोरखाको घैरुङ स्थित ज्यामिरश्वाँरामा रहेको गणेश प्राथमिक बिद्यालयको भवन सहारा क्लवले निर्माण गरिदिएको छ । सहारा क्लव पोखराको संयोजनमा बेलायतका विभिन्न संघ संस्थाहरुले भवन निर्माण गरिदिएका हुन् ।

भवनको बुधाबार एक कार्यक्रमका बीच अरुण चौधरी फाउण्डेशनका अध्यक्ष तथा सिजी ग्रुपका निर्देशक अरुण कुमार चौधरीले उद्घाटन गरेका हुन् । भवन उद्घाटन पछि बोल्दै चौधरीले विद्यालयमा गरिएको सहयोगले शिक्षा क्षेत्रलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे । उनले ब्यवसायसँगै सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै सामाजिक संस्थाको उदाहरणीय काम भएको बताए । धेरै ठाउँमा हामीले सहयोग गरेका छौं, उनले भने–तर अन्य क्षेत्रमा गरेको सहयोग सदुपयोग भएको थिएन, म यो ठाउँमा आएर थाहा पाएँ अन्य ठाउँमा गएको सहयोग ब्यर्थ गएको रहेछ । समाजबाट कमाएको सम्पत्ति सामाजिक क्षेत्रमै लगानी गर्न नसके कमाउनुको अर्थ नरहेको उनले बताए ।

सहाराको सहाराले गोरखामा स्कुल
सहाराको सहाराले गोरखामा स्कुल

मलाई यो ठाउँले ठूलो गुन लगाएको छ, केही भाबुक मुद्रामा देखिएका चौधरीले भने–यो ठाउँको गुन तिर्न फेरि फर्किनेछु ।
सहारा क्वल पोखराका अध्यक्ष बीरभद्र आचार्यले भौतिक संरचना निर्माण सम्पन्न भएकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे । सरकारी विद्यालयमा पछिल्लो समय गुणस्तरीय शिक्षा नभएको भन्दै उनले क्लवले गरेको लगानी संरक्षणका लागि सुझाए । हामी कुनै एनजिओ, आईएनजिओ होईनौं, उनले भने–सामाजिक क्लवले समाजमा गरेको लगानी संरक्षण गर्ने दायित्व स्थानीयको पनि हो, यसलाई जोगाउनुहोला ।

उनले विद्यालय निर्माणमा सहयोग गर्ने सहारा युके लगाएत सबैलाई धन्यबाद दिए । सहारा क्लव युकेका अध्यक्ष दीलिप कुमार गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए । भवन निर्माणका लागि सहारा युके, अल्डरसट एफसी युके, चेल्सी क्लव, अरुण चौधरी फाउण्डेसन, सिराज होम्स, वकिङ एसिया बिजनेस फोरम, वर्नइण्ड रोटरी क्लव, लिण्डेण्ड हाउस लगाएतको आर्थिक सहयोग छ । अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधी ८ कोठे भवन निर्माण गरिएको सहारा युकेका भूकम्प पीडित पुनःस्थापनाका संयोजक मीन बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार करिब ३५ लाखको लागतमा भवन निर्माण गरिएको हो । यसबाहेक विद्यालयमा आधुनिक किसीमका फर्निचर ब्यवस्था गरिएको छ भने विद्यालयलाई तारबार सहित घेरिएको छ ।

भौतिक संरचना पूरा भएकाले शैक्षिक गुणस्तर बृद्धी गरी नमूना विद्यालयको रुपमा स्थापित गर्ने विद्यालयका प्रधानध्यापक गुन बहादुर थापाले प्रतिबद्धता जनाएका छन् । २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल ६० बढी विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि विद्यार्थी थपिन थालेका थापाले जानकारी दिए । भूकम्पअघि १ सय भन्दा बढी विद्यार्थी भएपनि भूकम्पले बिद्यालय सहित गाउँ नै तहस नहस भएपछि गाउँलेहरु शहर पसेका उनले बताए । सहारा क्लवले सहयोगी हातहरुसँग समन्वय गरेर विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । क्लवले एकेडेमी नै स्थापना गरी कठिन परिस्थीतिका बालकहरुलाई आश्रय र शिक्षा दिक्षाको ब्यवस्था मिलाएको छ । क्लवले सञ्चालन गरेको एकेडेमीमा हाल १६ जिल्लाका २६ बालबालिकाहरु आश्रित छन् ।

कमेन्टहरु
Loading...