सक्षम र सवल निजी क्षेत्र सरकारको चाहना ः मन्त्री लेखक

पोखरा, ११ असोज / पोखरा उद्योग वाणिज्य संघले कास्कीमा रहेका विभिन्न सरकारी निकायका प्रमुखहरुसँग मंगलबार परिचयात्मक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता तथा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको विशेष उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विश्वशंकर पालिखे र संचालन संघका महासचिव दामु अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्र र राष्ट्रसेवक कर्मचारीहरु एउटै सिक्काको दुई पाटो भएको उल्लेख गर्दै दुबैको सहकार्यले मात्र समग्र पोखराको विकास सम्भव रहेको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघ कुनै बेला पोखरा व्यापार संघको रुपमा स्थापित भएको स्मरण गर्दै उहाँले अग्रजहरुको सत्कर्मको परिणामबाटै अहिलेको आधुनिक पोेखरा निर्माण सम्भव भएको बताउनुभयो ।

सक्षम र सवल निजी क्षेत्र सरकारको चाहना ः मन्त्री लेखक
सक्षम र सवल निजी क्षेत्र सरकारको चाहना ः मन्त्री लेखक

पोखराको भौतिक, आर्थिक र सामाजिक विकास नै संघको लक्ष्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘समस्या धेरै छन् तर ती समाधान गर्न नसकिने खालका छैनन्, यहाँको उद्योग व्यवसाय र पर्यटनको विकासको लागि बृहत्तर गुरु योजनासहित अगाडि बढ्नु अहिलेको आवश्यता हो ।’

कार्यक्रममा बोल्दै भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले सवल र सक्षम निजी क्षेत्र सरकारको चाहना भएको बताउनुभयो । पूँजीको विकास गर्ने सवालमा देशका प्रमुख दलहरुको समान धारणा रहेको उल्लेख गर्दै उहाँले अबको साझा एजेण्डा आर्थिक उन्नति नै हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको संविधानले संसारका सबै संविधानले परिकल्पना गरेका ३१वटा मौलिक हकहरुलाई स्वीकार गरेको स्मरण गर्दै उहाँले भन्नुभयो,‘तर संविधानको धाराले सेवा प्रवाह गर्ने हैन, सेवा प्रवाह गर्न अर्थ ( पूँजी) चाहिन्छ । ’ संविधानको सर्वस्वीकार्यता, संविधान कार्यान्वयन , जनजिविकाको क्षेत्रमा देखिएको समस्या समाधान र भूकम्प पीडितको लागि तत्काल पुनर्निर्माण सरकारका प्रमुख चारवटा प्राथमिकता रहेको बताउँदै उहाँले आउँदो चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दिशामा सरकार अगाडि बढेको बताउनुभयो ।

दुर्घटना न्यूनिकरण गर्नको लागि आफ्नो मन्त्रालयले यातायात ऐन संशोधन गर्न लागेको उल्लेख गर्दै उहाँले पर्यटक सवारीको हकमा लागु भएको सेवा र सुविधा घटाउने आफ्नो कुनै मनशाय नभएको प्रष्ट पार्नुभयो ।

कमेन्टहरु
Loading...