धादिङबेसी, ११ असोज /जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन्। अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा १० पुरूष र ४ महिला छन्।
दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ। मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्रु बोकी त्यसतर्फ गएको बस बिहान साढे ११ बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ।
बसको छत र सीटमा टनाटन यात्रु भएको प्रहरीले जानकारी दिएको छ । पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो। दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार स्थानीयले गरेका छन्। घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।