माछापुच्छ्र्रे र ओपन वाटर पौडी प्रतियोगिताको तयारी तिब्र

पोखरा, १० असोज /कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजना एवं नेपाल पौडि संघको सहयोगमा असोजको १६ र १७ गते पोखरामा सातौं माछापुच्छे्र पौडि प्रतियोगिता र ओपन वाटर स्विमिङ्ग च्याम्पियनशिप हुने भएको छ ।

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पौडि संघका अध्यक्ष अशोक बज्राचार्यले प्रतियोगिताको तयारी तिब्र पारिएको जानकारी दिए । माछापुच्छे्र पौडि प्रतियोगितामा राजधानीबाट ८० जना र कास्कीका २० गरि झण्डै सय खेलाडीको सहभागिता रहने सो अवसरमा जानकारी दिइयो ।

उमेर समुहमा हुने यो प्रतियोतिगामा १० वर्ष मुनि, १२ वर्ष मुनि, १४ वर्ष मुनि उमेर समुहमा फ्रि स्टायल, बेष्ट स्ट्रोक, बटरफ्लाई र ब्याकस्ट्रोकका इभेण्टहरुमा प्रतिस्पर्धा हुनेछन् । छात्रतर्फ १६ र छात्रातर्फ १६ गरि ३२ इभेण्टका ३२ स्वर्ण, ३२ रजत र ३२ काय पदककालागि प्रतिस्पर्धा हुने बज्राचार्यले बताए ।

त्यस्तै कास्की जिल्लाका खेलाडीहरुलाई प्रोत्साहन दिलाउनका लागि १४ वर्ष मुनि र १७ वर्ष मुनिको २ उमेर समुहमा छुट्टै इभेण्ट संचालन गरिने संघ कास्कीका अध्यक्ष बैभव पौडेलले जानकारी दिए । त्यस्तै फेवातालमा हुने ओपन वाटर च्याम्पियनशिपमा झण्डै ३० खेलाडीको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।

साढे दुई किलोमिटर दूरी निर्धारण गरिएको प्रतियोगिताका विजेताले नगद २५ हजार, दोश्रो हुनेले नगद १५ हजार तथा तृतीय हुने पौडिबाजले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पनि सो अवसरमा जानकारी दिइयो । प्रतियोगिता सम्पन्न गर्न झण्डै ८ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

कमेन्टहरु
Loading...