दोस्रो घाचोक महोत्सव मंसिर दोस्रो साता

पोखरा, ९ असोज/कास्कीको घाचोकमा आगामी मंसिर दोश्रो साता दोश्रो घाचोक महोत्सव हुने भएको छ । स्थानीय परिवर्तनका लागि युवा सञ्जाल (यूनेक) नेपालको अगुवाईमा भएको भेलाले मंसिर ९ गतेदेखि १३ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धन र घाचोकको विकासका लागि यसपटक पनि महोत्सव गर्न लागिएको अध्यक्ष मौसम कार्कीले जानकारी दिए । महोत्सवमा बाल उद्यान, स्थानीय कृषि तथा हस्तकलाका सामानको प्रदर्शनी र बिक्री, दूधबाट बनेका परिकारका स्टलका साथमा विविध साँस्कृतिक कार्यक्रम गरिने अध्यक्ष कार्कीले बताए ।

महोत्सवकै अवसरमा यसपटक कास्की जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिता समेत हुने भएको छ । त्यसका लागि कास्कीका विभिन्न ठाउँमा अडिसन लिईने र उत्कृष्ट प्रतियोगीलाई प्रतियोगितामा समावेश गराईने नृत्य संयोजक नरभद्रा कुँवरले जानकारी दिईन् ।

महोत्सव सम्पन्न गर्न लाग्ने खर्च र अनुमानित आयको विवरण छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कोषाध्यक्ष सुजन लम्सालले बताए । यसअघि यूनेक नेपालले पहिलोपटक गतबर्ष कात्तिक १ दखि ४ गतेसम्म घाचोकमै महोत्सव आयोजना गरेको थियो । संस्थाले घाचोकमा केही बर्षदेखि गाउँ चिनारी लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...