दोहोरी प्रतिष्ठानमा दाहालको उम्मेदवारी

पोखरा, ३ असोज/गायक जीवन दाहालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आसन्न छैटौं केन्द्रीय महाधिवेशनमा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरे । ‘सबैको सर्पोट र सल्लाह बमोजिम सदस्य पदको उम्मेदवारी दिने निर्णय गरें,’ उनले भने, ‘केन्द्रमा रहेर संस्थाको हितमा काम गर्ने इच्छाशक्ति भएकाले उम्मेदवार घोषणा गरेको हुँ ।’ केन्द्रीय अधिवेशन असोज ८, ९, १० गते काठमाडौंमा हुँदैछ ।

दाहाल प्रतिष्ठानको गण्डकी अञ्चलको निर्वतमान अध्यक्ष हुन् । उनी २०६७ सालमा अञ्चल कार्यसमिति गण्डकीको सचिव र २०७० मा अध्यक्ष भएका थिए । उनकै कार्यकालमा २ पटक उत्कृष्ट अञ्चलको सम्मान प्राप्त भएको थियो । दाहाल २०५८ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको उपाध्यक्ष थिए । ‘प्रतिष्ठान कास्कीमा रहँदा उत्कृष्ट जिल्लाको रुपमा २ पटक केन्द्रीय कार्यसमितिबाट सम्मानित भएका थियौं,’ उनले स्मरण गर्दै भने ।

उनको कार्यकालमा रक्तदान कार्यक्रमदेखि चाइनाको पुलदेखि सिर्जनाचोकसम्म सरसफाइ कार्यक्रम, कलाकार कल्याणकारी कोष वृद्धिको निम्ति नेपाली फिल्म ‘परदेशी’को च्यारीटी, वृद्धाश्रम भूकम्प पीडितलाई सहयोग जस्ता कार्य भएका थिए । दाहाल २०५४ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रबाट प्रसारित देउराली कार्यक्रम र रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि औपचारिक रुपमा उनी दोहोरी क्षेत्रमा आवद्ध भएका हुन् ।

रेडियो नेपालमा गीत गाउने क्रममा तारापती सुवेदीसँग जोडी बनाएर धेरै कार्यक्रममा सहभागी भएका थिए । दाहालका सांगीतिक गुरु सुवेदीसँग मिलेर थुप्रै गीत पनि रेकर्ड गरे र आजसम्म पनि उनीहरुको जोडी निरन्तर चलिरहेको छ । दुई जनाको सहकार्यमा ‘जाम त भने बनको बाटो, सानु तिम्रो बिहे पछि हो, राती राती बनको बाटो (रोइला), चाहिँदैन धन, सम्झना छैन र, भत्केको पुल छ, भूकम्प गीत, स्वदेश गान लगायत ३ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।

कमेन्टहरु
Loading...