पोउवा संघका अध्यक्ष पदका उम्मेदवार देब क्षेत्रीको घरदैलो अभियान सुरु

पोखरा, २६ भदौ/पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनका अध्यक्ष पदका उम्मेदवार देब क्षेत्रीले घरदैलो अभियान सुरु गरेका छन् । घरदैलो अभियानका क्रममा क्षेत्रीले आईतवार पोखराका बिभिन्न क्षेत्रका उद्योगी र ब्यापारीहरुसंग भेटवार्ता गरेका हुन् ।

भदौ ३१ र असोज १ गते सम्पन्न हुन गईरहेको संघको ३१ औ महाअधिवेनको लागि प्यानल सहित निर्वाचनमा होमिएको क्षेत्रीलेकोे समूहले आईतवार पोखराको विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, लगायतका क्षेत्रका विभिन्न उद्योगी व्यवसायीहरुसंग भेटघाट र घैरदैलो कार्यक्रम गरेको प्रचारप्रसार समितिले जनाएको छ ।

घरदैलो अभियानपछि अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले पोखराका उद्योगीब्यापारीहरु र वस्तुगत संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने बचन दिएकोे बताएका छन् । उनले अन्य उमेदवारले जस्तो आफुले ठूला योजना र महत्वकांक्षी आश्वासन भन्दा पनि ब्यवसायीको हक हितलाई प्रथामिकतामा दिएकोले आफ्नो पक्षमा उद्योगी ब्यापारीहरुले मत दिने दाबी गरे ।

उनले व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियम बारे जानकारी गराउन कार्यक्रम सञ्चालन गर्ने, सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्ने उल्लेख गरेका छन् ।

क्षेत्रीले व्यवसायलाई समय सापेक्ष बनाउन प्रविधिको सहारा लिँदै अनलाइन सेवा सञ्चालन गर्ने र सचिवालयलाई प्रविधियुक्त बनाउने, उद्योग व्यवसायमा समस्याका रुपमा देखिँदै आएको व्यवसायी–मजदुर बीचको सम्बन्ध सुधार र विवाद समाधानलाई प्राथमिकतामा राख्ने, युवा उद्यमी मञ्च र महिला उद्यमीको भूमिकालाई अझै प्रभावकारी बनाउने, राष्ट्रिय र अन्तराष्ट्रिय उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर अनुभव आदान प्रदान गरी उद्यमशीलता विकासका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...