जनताको सेवामा लाग्न पुर्व राष्ट्रपति डा. रामवरण यादवको सुझाव

पोखरा, २५ भदौ /एम्नेष्टी इन्टरनेशनल नेपालको २५औं वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । साधारणसभाको पुर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे । यादवले पछिल्लो सयममा दलका नेता पदका लागि परेको बताए ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेताहरुले जनताको सेवाभन्दा पनि सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सत्ताका लागि नभइ जनताको सेवाका लागि एकताबद्ध हुन नेताहरुलाई आग्रह गरे । पूर्वराष्ट्रपति यादवले असन्तुष्टहरुको मागलाई सम्बोधन गरेर संविधान कार्यन्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति यादवले चिकित्सकहरुको सुझावअनुसार नै आफू उपचारका लागि विदेश जान लागेको भन्दै त्यसप्रति भएका टिप्पणीले दुःखी बनाएको समेत बताए । तीन दिनसम्म चल्ने साधारणसभा तथा अधिवेशनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन र आगामी वर्षको योजना र वजेटका बारेमा छलफल हुने छ ।

नेपालको वर्तमान मानव अधिकारको अवस्था, आप्रवासी कामदारको अधिकारी र रोम विधानसम्बन्धी विभिन्न प्रस्तावमा छलफल गरिने र आगामी २ वर्षका लागि नेशनल बोर्ड अर्थात राष्ट्रिय समिति र पुनरावेदन समितिको नेतृत्व चयन गर्नेछ ।

साधारणसभामा देशभरमा एम्नेष्टी इन्टरनेशनल अन्तर्गत ६६ समूहबाट २÷२ जना प्रतिनिधि तथा अन्य पर्यवेक्षकहरु गरि १८० बढीको सहभागिता रहने एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले बताए ।

एम्नेष्टी इन्टरनेशनल नेपालको नेतृत्व लिन ३ जनाको उम्मेदवारी दर्ता भइसकेको छ । जसमध्ये राजन कुँइकेल, भवानी खरेल र उत्तम सापकोटा रहेका छन् । कुइँकेल यसअघि संस्थाको उप–महासचिव समेत हुन् । उनी डेढ दशकदेखि पत्रकारिता पेशा र मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।

यस्तै खरेलले संस्थाको कार्यसमितिको सदस्य रहेर काम गरेको र सापकोटाले महासचिव रहेर काम गरेको अनुभव छ । अध्यक्ष र कोषाध्यक्षसहित ९ जना सदस्य पदका लागि हुने अधिवेशनमा कोषाध्यक्ष पदमा विक्रम धुकुक्षु, हीरा शर्मा, हीरा भगत र भवकृष्ण खतिवडाले उम्मेदवारी दिएका छन् ।

कमेन्टहरु
Loading...