आयोगको सिफारिसमा मुद्दा चलाइने र राज्यले परिपुरणको व्यवस्था गर्ने -महान्यायाधिवक्ता

पोखरा, २४ भदौ/महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले बेपत्ता आयोग र छानबिन आयोगले गरेका सिफारिस आधारमा यातनासम्बन्धी विशेष अदालत बनाई मुद्दा चलाउने र राज्यले परिपुरणको व्यवस्था गर्र्ने बताएका छन् । नेपाल वार एशोसिएसन पुनरावेदन अदालत बार इकाइ पोखराले उनको स्वागत तथा सम्मानमा शुक्रबार वार कार्यालयमा आयोजना गरेको कार्यक्रममा महान्यायाधीवक्ता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय यातना सन्धीमा भएका विषयहरु कानुन संशोधन गरी ऐनबमोजिम विशेष अदालत अनुसार कारबाही गनुपर्नेमा जोड दिए । आममाफी भन्ने कुरा नहुने र अन्तर्राष्ट्रिय अदालतको कानुन विपरीत गर्न नहुने भन्दै डेमोस्टिक कानुनलाई पनि संशोधन गर्दै जानुपर्ने उनको जोड छ ।

बागुलङ निवासी श्रेष्ठ अघिल्लो महिनामात्र महान्यायाधीवक्ता बनेका हुन् । उनी नेपाल बार एशोसिएसनको पूर्वमहासचिव समेत हुन् । कार्यक्रममा पुनरावेदन वार एशोसिएसन पोखराका अध्यक्ष दयाराम गौतमले महान्यायाधिवक्ता श्रेष्ठको सफल कार्यकालको शुभकामना दिँदै कानुन व्यवसायीसमेत समयअनुसार चल्नुपर्ने बताए ।

कार्यक्रममा सहमहान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल लगायत बारका पूर्वअध्यक्षलगायत उपस्थित थिए । वार अध्यक्ष दयाराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दीपक बास्तोलाले र संचालन सचिव शिवराज वाग्लेले गरेका थिए । महान्यायाधिवक्ता बनेयता पहिलो पटक पोखरा आएका श्रेष्ठलाई यहाँस्थित जिल्ला बार, सरकारी वकिलको कार्यालय, बाग्लुङ समाज पोखरा लगायतले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...