खातुनको न्याय हराएको शहरको लोकार्पण

पोखरा, जेठ २१ । युवा अवस्थामा नै समाजसेवामा आफ्नो पहिचान बनाएकी साहित्यकार जैनव खातुनको संस्मरणात्मक कृति ‘न्याय हराएको शहर’ बजारमा आएको छ । साहित्यकार प्रदीप नेपालले सोमबार अलि मियाँ लोक वाङमय प्रतिष्ठानले आयोजना गरेको एक समारोहमा सो कृतिको लोकार्पण गरे ।

मुस्कान क्लब, मियाँपाटन, पोखराले प्रकाशन गरेको सो संस्मरणात्मक कृतिमा खातुनले बाल्यकालदेखी किशोरावस्थासम्म आफूले भोगेका भोगाई र न्याय प्राप्तिको यात्रालाई समेटेकी छिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका साहित्यकार नेपालले खातुनले कृतिमा पहाडी मुस्लिमको अधिकारको कुरा उठाएको बताए । उनले कवितात्मक शैलीमा खातुनले जीवनलाई सुन्दर तवरले चित्रण गरेको र लेखनलाई परिमार्जन र निरन्तरता दिए उत्कृष्ट लेखक बन्न सक्ने बताए ।

प्राज्ञ रमेश श्रेष्ठले साहित्यलाई उज्यालो तर्फको यात्राको संज्ञा दिदै खातुनको यात्रा त्यसतर्फ सफलतापूर्वक आरम्भ भएको बताए । सो पुस्तकको समीक्षा गर्दै समालोचक राजेन्द्र चापागाई ‘आहत’ले पुस्तकमा मानसिक यातना, दण्ड हिनता, प्रशासनको बेकम्पापनलाई प्रहार गरिएको बताए । उनले शब्दको उचित संयोजन र घटनाक्रमको मिहिन चित्रणले पुस्तक पाठकलाई नयाँपन र उर्जा दिने खालको बनेको टिप्पणी गरे ।

लेखिका खातुनले समाजमा देखेका र भोगेका घटनाक्रमले आफूलाई लेख्न बाध्य बनाएको धारणा राखिन । कार्यक्रममा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी, सिद्धि सेतुली स्मृति प्रतिष्ठानका सचिव रामबहादुर पौडेल, बरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल, गीताञ्जली साहित्य परिवारका अध्यक्ष कृष्ण भण्डारी ‘मुमुक्षु’ले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिदेवी कोईराला र सञ्चालन सचिव पदमराज ढकालले गरेका थिए ।

कमेन्टहरु
Loading...