डागर स्मृति पुरस्कार सामाजिक अभियन्ता शर्मालाई

पोखरा, १७ भदौ /डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष वितरण गर्दै आएको डागर स्मृति पुरस्कार यसवर्ष सामाजिक अभियन्ता हरिश्चन्द्र शर्मालाई प्रदान गर्ने भएको छ ।

२०१६ मा वीरगञ्जमा जन्मेका शर्मा विगत ३९ वर्षदेखि पोखरामा बसोबास गर्दै आएका शर्मालाई प्रतिष्ठानले समाजसेवा अन्तर्गतको उक्त पुरस्कार प्रदान गर्न लागेको हो । प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०५८ सालमा असहाय कल्याणकारी संस्था स्थापना गरेर व्यवहारिसे व्यक्तिहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग सहयोग गर्दै आएका शर्माले २०६२ सालमा विश्व शान्तिको कामना गर्दै पोखरा वृद्धाश्रमबाट शान्ति दीप अभियान सुरु गरेका थिए । उनको शान्ति दीप अभियान अझै पनि घरमा जारी रहेको छ । यस्तै शर्माले २०६५ सालमा शान्ति दीप नेत्रदान अभियान सुरु गरेर हाल उक्त अभियानले नवौं चरण पार गरिसकेको छ ।

शर्माले चलाएको मानव कल्याणकारी कार्य शान्तिदीप आकस्मिक रक्तदान अभियानले उनलाई सबैभन्दा बढी अभियन्ताकै रुपमा चिनाउन सफल भएको छ । उक्त अभियान अन्तर्गत २६७ जना सदस्यले स्वयमसेवी रुपमा काम गर्दै आएको छ । २०६५ सालमा आफ्नी आमा त्रिवेणी देवीको स्मृतिमा त्रिवेणी देवी स्मृति अन्तिम कोष स्थापना गरेर पोखरा वृद्धाश्रममा निधन भएका वृद्धवृद्धाको अन्तिम संस्कार गर्नका लागि उक्त कोषले सहयोग गर्दै आएको छ ।

विजयादशमी दुर्गापुजा समितिको कोषाध्यक्ष तथा सचिव हुँदै विभिन्न भूमिका निर्वाह गरेका शर्मालाई नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, तिलगंगा आँखा अस्पताललगायतका संस्थाले विभिन्न पुरस्कारबाट विभूषित गरिसकेका छन् । स्मरण रहोस् शर्माले राजन प्राशर डागरको अन्तिम संस्कारमा दागबत्ति दिएका थिए ।

प्रतिष्ठानले राजन प्राशर डागरको वार्षिक पुण्यतिथि ऋषि पञ्चमीका दिन एक जना समाज तथा साहित्यसेवीलाई पुरस्कृत गर्दै आएको छ । यस अगाडि उक्त पुरस्कारबाट आरएम डंगोल, विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, गोविन्दराज पहारी र भीम रानाभाट सम्मानित भइसकेका छन् । यस्तै प्रतिष्ठानले यस अगाडि पत्रकार महासंघ कास्कीको भवन निर्माणार्थ २५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो भने विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।

कमेन्टहरु
Loading...