कास्कीका दुई एमाले नेताको निधन

पोखरा, १६ भदौ/नेकपा एमालेका नेता यमलाल देवकोटा र टेकबहादुर गुरुङको बुधबार निधन भएको छ । कास्कीको लुम्ले गाविस वडा नम्बर ६ का ४७ वर्षीय देवकोटाको उच्चरक्त चापले बुधबार राति निधन भएको हो ।

बुधबार बिहान विन्ध्यवासिनी उच्च मावि वरपाटनमा अध्ययापन गराइरहेका बेला अचानक छातिमा अप्ठ्यारो महसुस भएपछि उनलाई उपचारको लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको राति निधन भएको आफन्तले बताए । नेकपा एमाले कास्कीका पूर्व जिल्ला सदस्य देवकोटा ३६ सालदेखि नै राजनीतिमा सक्रिय थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि एमाले कास्कीको कार्यालय शान्तिवनमा राखिएको थियो ।

उनलाई नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य खगराज अधिकारी, पोलिटब्युरोका वैकल्पिक सदस्य एवं सांसद तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं सांसद सीता गिरी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा लगायत नेता कार्यकाताले श्रद्धान्जली दिएको एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिए । एमाले पार्टी कार्यलायमा नेता तथा कार्यकता, देवकोटाका आफन्त लगायतको बाक्लो उपस्थिति थियो । देवकोटाको बिहीबार सेतीनदीको रामघाटमा अन्त्येष्टि गरिएको छ । देवकोटाका श्रीमती एक छोरा र एक छोरी छन् ।

यसैबीच बुधबार बिहान निधन भएका अर्का एमाले नेता टेकबादुर गुरुङको बिहीबार अन्त्येष्टि गरिएको छ । उनको रामघाटस्थित बौद्ध अर्घौ सदनमा अन्त्येष्टि गरिएको हो । उनलाई पनि एमालेका सचिव पृत्वीसुब्बा गुरुङ, सांसद तुलबहादुर गुरुङ, सीता गिरी लगायतका नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनलाई श्रद्धाञ्जली दिन एमालेका नेता, कार्यकर्ताको बौद्ध अर्घौ सदनमा बाक्लो उपस्थिति थियो ।

लामो समय घाँटीको समस्याबाट पीडित गुरुङको उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । २०३३ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएपछि केही समय भूमिगत भएका गुरुङ साविक पुम्दीभुम्दी गाविसका पूर्व अध्यक्ष, आदावासी जनजजाति महासंघ कास्कीका पूर्व अध्यक्ष, एमाले जिल्ला कमिटीका पूर्व सदस्य हुन् । साविक पुम्दीभुम्दी ९ उल्लेरी स्थायी घर भई पोखरा एयरपोर्टमा बस्दै आएका गुरुङका २ छोरा र ४ छोरी छन् ।

नेकपा एमाले कास्कीले बिहीबार शोक विज्ञप्ति जारी गर्दै देवकोटा र गुरुङको निधनप्रति दुख व्यक्त गरेको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जारी गरको विज्ञप्तिमा उनीहरुको निधनले पार्टीलाई क्षति पुगेको उल्लेख छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

कास्की क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपा एमालेका सांसद सीता गिरीले पनि देवकोटा र गुरुङको निधनप्रति दुख व्यक्त गरिन् । गिरीले जारी गरेको विज्ञप्तिमा उहाँहरुको निधनले पार्टी र कम्प्युनिष्ट आन्दोलनमै क्षति पुगेको उल्लेख छ । गिरीले दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

कमेन्टहरु
Loading...