पुस्तकालय दिवसका अवसरमा डाक्टर भरतबहादुर खत्रीलाई सम्मान

पोखरा, १५ भदौ /नवौं पुस्तकालय दिवसका अवसरमा जिल्ला पुस्तकालय व्यवस्थापन समितिले बुधबार पोखरामा पुस्तकालय सेवी डा. भरतबहादुर खत्री र कपिलवस्तुस्थित पशुपति प्रताप पुस्तकालयलाई सम्मान गरेको छ ।

डाक्टर भरतबहादुर खत्री
डाक्टर भरतबहादुर खत्री

समितिले पुस्तकालयको स्थापना एवम् विकासमा योगदान पु¥याएको भन्दै नशा तथा हाडजोर्नी विशेषज्ञ डा. खत्री र ऐतिहासिक पुस्तकालयका रुपमा पशुपति प्रताप पुस्तकालयलाई समितिको तर्फबाट कदरपत्र सहित सम्मान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शिक्षाको विकासमा पुस्तकालयको महत्वपूर्ण भूमिका हुने बताउँदै समाजमा पठन संस्कृतिलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

स्थानीय विकास अधिकारी एवम् जिल्ला पुस्तकालय व्यवस्थापन समितिका संयोजक दामोदर भण्डारीले प्रत्येक टोल समाज एवम् संघ संस्थामा पुस्तकालय स्थापना गर्नुपर्ने बताउनुभयो । पश्चिमाञ्चल विकास मञ्चका संरक्षक धर्मराज बरालले बढीरहेको सूचना प्रविधिको विकास समेतलाई दृष्टिगत गरी पुस्तकालयको विकास तथा विस्तारलाई राज्यस्तरबाट प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुस्तकालय दिवसका अवसरमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगिताका विजयीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा मदरल्याण्ड मा.वि.की प्रकृति सुवेदी प्रथम, सैनिक आवाशीय मा.वि.का अविरल भट्टराई द्वितीय, बाराही मा.वि.की सम्झना राई र गण्डकी आवाशीय मा.वि.का उत्तमकुमार मिश्र तृतीय बनेका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल, सम्मनित व्यक्तित्व डा. भरतबहादुर खत्री, पशुपति प्रताप पुस्तकालय कपिलवस्तुका राजेशकुमार पाण्डे लगायतले पुस्तकालयको महत्व सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...