गायक कर्ण दास र कलाकार राजन काफ्लेलाई पुरस्कार

पोखरा, १४ भदौ /पोखरेली युवा साँस्कृतिक परिवारले गीत संगीत र कलामा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७३ बाट यस वर्ष गायक कर्ण दासलाई र ललितकला पुरस्कार २०७३ बाट कलाकार राजन काफ्लेलाई पुरस्कृत गर्ने भएको छ ।

कर्णदास
कर्णदास

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत संगीतका क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय कर्णदास २०५३ मा पहिलो पटक “जिन्दगीको के भरोसा….” गीत मार्फत् उदाएका थिए । लोकप्रिय व्याण्ड मध्यान्हका प्रमुख गायक कर्ण दासका मध्यान्ह भाग १, २, ३, व्यर्थै फेरि, पुरानो डुंगा, आधा सपना, प्रित, दाख जस्ता एल्वमहरु सार्वजनिक भई सकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो मर्दना स्वर शैलीमा १२ सय गीत गाइसकेका कर्ण दासले उत्कृष्ट गीत, उत्कृष्ट आवाज र उत्कृष्ट व्याण्डका लागि थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक संस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठले जानकारी दिए ।

राम्रो पियानो बजाउने कर्ण दास १० वर्ष अमेरिका बसेर आमाको मायाले घरदेश फर्किए लगत्तै दश वर्षपछि कर्ण दास २०७२ मार्फत पुन गीत संगीतको दुनियाँमा क्रियाशील छन् । गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी परिवारद्धारा सञ्चालित यो पुरस्कारबाट यस अघि श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा र सुनिल थापा पुरस्कृत भइ सकेका छन् ।

वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०७३ पाउने कलाकार राजन काफ्ले काभ्रेपलाञ्चोकमा जन्मेर काठमाडौंमा क्रियाशील चित्रकला, मूर्तिकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् ।  “कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो” भन्ने राजन काफ्लेले पाँच सय भन्दा बढि मुहारचित्र बनाउनुका साथै प्रतीक चिह्नको सिर्जना गरिसकेका छन् । इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरामा उनका मूर्तिकलाहरु स्थापित छन् ।

राजन काफ्ले
राजन काफ्ले

पारिजात कला सम्मान पाएका काफ्लेले राष्ट्रिय मूर्तिकला प्रतियोगितामा ग्राण्ड अवार्ड, नाफाद्धारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा मूर्तिकला तर्फ र प्रतिस्थापन कलामा राष्ट्रिय ललितकला पुरस्कार पाइसकेका छन् । उनले बंगलादेशमा आयोजित १५ औं एसियन वाइनालामा अवार्ड प्राप्त गरेका छन् । नेपाली कलाको विभिन्न विधाको उन्नयनमा काफ्लेले पु¥याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७३ प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार बुद्धि गुरुङले जानकारी दिएका छन् ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की र लोकप्रसाद गुरुङ पुरस्कृत भइसकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा  भाद्र १८ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा दुवै पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...