सधैं एक नम्बरमा ः देव क्षेत्री

कञ्चन थापा
पोखरा ः /मेहनत के हो र यसको फल कस्तो हुन्छ भन्ने कक्षा लिन उनले अन्त जानै परेन । इलेक्ट्रोनिक क्षेत्रमा बाबु भक्तबहादुर क्षेत्रीले गरेको मेहनतनै उनको लागि जीवनोपयोगी शिक्षा सावित भयो । मोहरिया टोलमा जन्मेहुर्के अनि पोखराकै बालबन्दिरमा उनले अक्षर कोर्न सिके । त्यसपछिको अध्ययनका लागि भने उनी अर्थात् देव क्षेत्री काठमाडौं पुगे ।

देव क्षेत्री
देव क्षेत्री

गुहेश्वरी बोर्डिङ स्कुलमा ३ कक्षासम्म पढेका उनले बाँकी स्कुले जीवन भने बुढानीलकण्ठ स्कुलमा बिताए । ३ कक्षा पास गरेपछि उनले प्रतिस्पर्धामा बुढानीलकण्ठमा नाम निकाले र एसएलसीसम्म त्यहीं पढे । नेपाली शैक्षिक क्षेत्रमा बुढानीलकण्ठले पु¥याएको योगदान अतुलनीय र उलाहरणीय छ । सैद्धान्तिक मात्र हैन व्यवहारिक ज्ञान उनले त्यहाँबाट लिए । आफूभन्दा ठूलालाई सम्मान र सानालाई आदर गर्ने अनि मेहनतको खुट्किला चढ्न सिके उनले । बाबु भक्तबहादुर(बिसी) सहित परिवारबाट सिकेको संस्कारलाई विद्यालयको सकारात्मक माहोलले अझै परिस्कृत बनाइदियो ।

एसएलसीपछि बाबुकै कामलाई अझै व्यावसायिक र परिस्कृत गराउने सोचले उनी पुल्चोक इन्जिनियरिङ कलेज भर्ना भए । इलेक्ट्रोनिक्समा बिइ गरे । भर्खरे कम्प्युटरको जमाना भित्रिएको थियो । समय र महत्व उनलाई थाहा थियो । कम्प्युटर विषयमा २ वर्षे डिप्लोमा पास गरे । नयाँ कुरामा विशेष ख्याल गर्ने उनले २०४९ सालमा पोखरामा पहिलोपटक कम्प्युटर इन्टिच्युट खोले । टाइपराइटरले बजार लिइरहेको बेला खोलिएको पहिलो कम्प्युटर इन्टिच्युटले बजारमा राम्रो प्रभाव जमायो । केही गरौं भन्ने चाहना राख्ने युवायुवतीलाई विज्ञान र प्रविधिको सहाराले अघि बढाउन र व्यावसायिक बनाउन देवले कम्प्युटर इन्टिच्युट खोलेका थिए, आखिर भयो पनि त्यस्तै । कम्प्युटर बिक्रीका साथै र तालिम पनि दिइन्थ्यो त्यहाँबाट ।

सधैं पहिलो हुन चाहन्छन् देव र भएको पनि त्यस्तै छ । २०५३ सालतिरै सिसिएसएल संस्थाको सहकार्यमा पोखरामै पहिलोपटक इन्टरनेट सेवा सुरु गरे । २०५७ सालमा पोखरामै पहिलो एफएम रेडियो सञ्चालनमा ल्याए । व्यवसायमा अघि बढ्न अरुलाई असफल बनाउनुपर्छ भन्नेहरुको पछि उनी कहिल्यै लागेनन् । अग्रहरुको सल्लाह, अनुजको माया अनि आफ्नो दृढ विश्वासलाई साक्षी राखेर उनी निर्णय गर्छन्, त्यही भए र त कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्,‘व्यवसायमा नवीनता खोज्ने हो भने देवबाट सिक्नुपर्छ । उनले सञ्चालनमा ल्याएको माछापुच्छ«े एफएम पोखरा मात्र नभएर पश्चिमाञ्चलकै पहिलो व्यावसायिक एफएम रेडियो हो ।

जसै इन्टरनेट प्रविधिको व्यापकता बढ्नै गयो । त्यतातिर पनि देवको ध्यान पुग्यो र २०६५ सालमा पोखरामै पहिलोपटक ताररहित इन्टरनेट सेवा ‘स्पिड नेट’ चलाए । उनलाई पछ्याउँदै अन्य सेवा प्रदायक कम्पनी आएपछि पोखरामा इन्टरनेट सेवा सुलभ भएको हो । ताररहित इन्टरनेट सेवाले पोखरामा राम्रो बजार पिटेको थियो । त्यति मात्र कहाँ हो र अमेरिकाको लागि डिभि भर्नको लागि इ–स्पटको शाखा पनि उनले पोखरामा सञ्चालन गर्दै आएका छन् । जसका माध्यमबाट धेरै पोखरेलीको अमेरिका सपना पूरा भएको छ ।

छतमा ठूलो छाताजस्तो एन्टेना राखेर विदेशी च्यालन हेर्ने चलन अन्त्य गर्दै उनले पोखरामा बिसी केबल प्रालि खोले । पोखराका धेरै घरहरुमा बिसी केबलमार्फत विदेशी च्यानलको सुविधा उपभोग गरिरहेका छन् उपभोक्ताले । अहिले विश्वव्यापी रुपमा सिम टिभीको लहर चल्न थालेपछि डिजिटिल प्रविधिलाई पछ्याएको छ बिसी केबलले । सोही केबलमार्फत गोल्डेन आई टेलिभिजन समेत सञ्चालन हुँदै आएको छ ।

देव क्षेत्री
देव क्षेत्री

प्रविधि र सञ्चार व्यवसायमा मात्र उनले आफूलाई सिमित राखेनन् । भारतका विभिन्न सहरमा प्रख्यात बिकानो र बिकानेर कम्पनीका उत्पादनलाई पोखरा भित्र्याउँदै ‘आँगन’ ब्रान्डको मिठाईं पसल व्यावसायिक साझेदारीमा सञ्चालनमा ल्याएका छन् । पोखराका शाकाहारी रेस्टुरेन्टको अभावलाई पूर्ति गर्दै ‘आँगन’ ब्रान्ड नै बनिसकेको छ । उनी भन्छन्,‘म नयाँ कामको खोजीमा हुन्छु, नयाँ कामलाई ब्रान्डिङ गर्न पनि सजिलो हुन्छ ।’

व्यवसायमा तल्लीन देव आफ्नो मात्र हैन समग्र व्यवसायीको हितका लागि प्रतिबद्ध छन् । त्यही भएर त २०६३ देखि हालसम्म पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा विजयी हुँदै आएका छन् । संघमा आवद्ध भएर लगातार १० वर्ष काम गर्दै आउँदा उनले पोखराका अधिकांश उद्योगी, व्यवसायीलाई नजिकबाट चिनेका छन् । अनि यहाँका उद्योगी, व्यवसायीले झेल्नु परेका समस्या पनि उनले बुझेका छन् । संघकै विभिन्न जिम्मेबारीमा रहनेक्रममा थुप्रै सकारात्मक प्रयास समेत गरेका छन् । त्यसैको परिणाम देव क्षेत्री सर्वाधिक रुचाइएका उम्मेदवार बन्दै आएका छन् । २०६३– ६५ र २०६५–६७ मा कार्यसमिति सदस्य, २०६७–६९ द्वित्तीय उपाध्यक्ष, २०६९–७१ सदस्य र अहिलेको कार्यसमितिमा उनी प्रथम उपाध्यक्ष छन् ।

गोरखा दक्षिण वाहु चौथौबाट विभूषित उनी पोखरा जेसिजको पूर्व उपाध्यक्ष, लायन्स क्लब अफ पोखरा लेकसिटीको निवर्तमान अध्यक्ष, नेपाल परिवार नियोजन संघ आजीवन सदस्य, नेपाल स्काउट पूर्व केन्द्रीय सदस्य, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) पूर्व उपाध्यक्ष हुन् । युवा उद्यमी मञ्च(एनवाइइफ)पोखराको संस्थापक सदस्य देव एनवाइइफ मार्फत नै पोखरा उद्योग वाणिज्य संघमा छिरेका हुन् । अहिले पनि एनवाइइफकै साथ र सहयोगमा उनी संघमामा अध्यक्ष पदको लागि चुनावी मैदानमा होमिएका छन् ।

हङकङ, चीन, फ्रान्स, नेदरल्यान्ड, बेल्जियम, जर्मन, अस्ट्रिया, थाइल्यान्ड, मलेसिया, सिंगापुर लगायत देशमा भ्रमण गरेका उनले भारतका मुख्य सहरका उद्योग वाणिज्य संघसँग पोखरा उद्योग वाणिज्य संघको भगिनी सम्बन्ध स्थापित गर्न पनि विशेष भूमिका खेलेका छन् ।

कमेन्टहरु
Loading...