प्राङ्गारिक कृषि सिकाउँदै एशियन फोरम

पोखरा, १२ भदौ/एशियन मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कालावाङ घरेडी होमस्टे, पुम्दीभुम्दीमा भदौ १० र ११ गते प्राङ्गारिक खेती गर्ने तरिकाबारे तालिम दिएको छ ।

होमस्टेलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थानीय होमस्टे संचालकहरुलाई दिइएको उक्त तालिममा प्राङ्गारिक तरकारी खेती, फलफूल खेती, माछापालन, माहुरीपालन, ग्रीन हाउस निर्माण, थोपा सिंचाई, कम्पोष्ट मल, झोल मल, माटो परीक्षण अािद बारे सिकाईको थियो ।

क्षेत्रीय कृषि तालिम निर्देशनालय काठमाण्डौबाट आएका बाली विकास अधिकृत दीपक भट्टराईले सो अवसरमा सैद्धान्तिक एवम् व्यवहारिक तरिकाले तालिम दिएका थिए । दुईदिने तालिमको समापन अवसरमा बोल्दै प्रमुख अतिथि एशियन फोरम कास्कीका अध्यक्ष तिलक थापाले होमस्टे आएका पाहुनालाई आ–आफ्नै घरमा उत्पादित अर्गानिक खाना दिन यस्ता तालिमहरु सहायक सिद्ध हुने बताए ।

उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सबै होमस्टे संचालकहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै एशियन फोरम कास्कीका सदस्य कल्पना आचार्यले तालिम लिएपछि आफ्नो घर बगैंचा करेसाबारीमा सुधार गरी परिवर्तन ल्याउन जरुरी रहेको बताइन् । कार्यक्रममा प्रकाश गरुङ, कृष्ण प्रसाद बराल, निर्मला गुरुङ, कल्पना बराल लगायतले मन्तव्य राखेका थिए ।

तालिमको समापन कार्यक्रममा कालावाङ घरेडी सामुदायिक होमस्टे व्यवस्थापन समिति अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षता र सचिव याम बहादुर गुरुङको संचालनमा भएको थियो । सो अवसरमा एशियन फोरमको तर्फबाट महिला सदस्यहरुको सम्मानमा तीजको दर खुवाउने र नाचगान सहितको रमाइलो कार्यक्रम पनि गरिएको थियो ।

कमेन्टहरु
Loading...