पोखरा बहुमुखिको अध्यक्षमा बाँस्तोला

पोखरा, १२ भदौ /त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयले विष्णुप्रसाद बाँस्तोलालाई पोखरा बहुमुखि क्याम्पस संचालक समितिको अध्यक्षमा मनोनयन गरेको छ । उपकुलपति कार्यालयलको गत आइतबार बाँस्तोलालाई अध्यक्षमा मनोनय गरेको हो ।

गत बैशाख अन्तिम साता भएको पाँचौ क्याम्पस सभाको शिफारिसको आधारमा बाँस्तोला अध्यक्ष बनेका हुन् । यसअघिका अध्यक्ष समेत रहेका बाँस्तोला सहित कपिलनाथ कोइराला र भीम गौतमलाई क्याम्पस सभाले अध्यक्षका लागि सर्वम्मत तरिकाले शिफारिस गरेको थियो ।

विष्णुप्रसाद बाँस्तोला
विष्णुप्रसाद बाँस्तोला

तीनजनालाई शिफारिस गरेकोमा उपकुलपति कार्यालयले बुद्धिजीवि, राजनीतिज्ञ तथा अन्य सरोकारवालासँगको राय सुझाव बमोजिम बाँस्तोलालाई मनोनयन गरेको हो । अध्यक्षको कार्यकाल तीनवर्षका लागि हुनेछ । बाँस्तोला यसअघि नयाँबजारस्थित महेन्द्र उच्चमावि र नवप्रभात मावि संचालक समितिको अध्यक्ष भईसकेका छन् । महेन्द्र र नवप्रभातको अध्यक्षमा रहँदा बाँस्तोलाले विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा विशेष योगदान गरेका थिए ।

त्यसैगरि उपकुलपति कार्यालयले पिएन क्याम्पसका सह प्राध्यापक डा यमनाथ तिमिल्सिनालाई पोखरा बहुमुखि क्याम्पसको त्रिवि प्रतिनिधिको रुपमा चयन गरेको छ । त्रिविले हरेक सामुदायिक क्याम्पसमा एकजनालाई प्रतिनिधिको रुपमा चयन गर्नेगर्छ । क्याम्पस संचालक समितिको अध्यक्षमा मनोनयन भएपछि बाँस्तोलाले सामुदायिक क्याम्पसलाई नयाँ उचाईमा लैजान विशेष पहल गर्ने बताए । ‘अहिले सामुदायिक क्याम्पसलाई सबैतिरबाट सहयोगको खाँचो छ,’ उनले भने, ‘त्यसमा अब सबै एकजुट भएर सहकार्य गरेर क्याम्पसलाई अब्बल बनाउन लागि पर्नेछु ।’

सामुदायिक क्याम्पसका घट्दो विद्यार्थी संख्या अहिले सबैतिरको चिन्ताको विषय रहेको उनले बताए । ‘शैक्षिक गुणस्तर कायम गर्न सके विद्यार्थी संख्या बढाउन सकिन्छ । त्यसमा मैले विशेष पहल गर्नेछु,’ उनले भने, ‘नीजि शिक्षणसंस्थासँग प्रतिश्पर्धी विद्यार्थी उत्पादनमा मेरो भूमिका विशेष रहनेछ ।’ पोखरा बहुमुखि क्याम्पसमा अहिले व्यवस्थापन र मानविकी संकायमा स्नातकतहसम्म अध्यापन हुन्छ । क्याम्पसमा अहिले सबैगरि करिब ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

कमेन्टहरु
Loading...