बसमा सिट नपाए पछि पोखरा बाग्लुङ राजमार्ग २ घण्टा बन्द

ढिकुरपोखरी ७, भदौ /कास्कीको ढिकुरपोखरी गाविस बासीले आज विहान ९ बजेदेखि ११ बजेसम्म पोखरा बाग्लुङ राजमार्ग बन्द गराएका छन् । उनीहरुले कास्कीका ढिकुरपोखरी, लुम्ले, सल्यान र कास्कीकोट गाविसका जनतालाई यातायातमा असहजता भएको भन्दै राजमार्ग बन्द गराएका हुन् ।

उनीहरुले पोखरा बाग्लुङ राजमार्गको नागडाँडा क्षेत्रमा यातायात बन्द गरेका हुन् ।दैनिक पृथ्वी र धौलागीरीका सयौं यात्रुबाहक वस आफ्नै घर आँगनबाट गुड्ने गरेपनि आफुहरुलाई ति बसले नबोकेको बरु वसका कर्मचारीहरुले उल्टै अमानविय व्यवहार गरेको भन्दै बाध्य भएर यातायात बन्द गर्नु परेको युवा आवाज नेपाल ढिकुरपोखरीकी सचिव मिना भण्डारीले बताइन् ।

बाग्लुङ जाने बसमा नयाँपुल यताको टिकट, काउन्टरले दिदैन । टिकट काटेका यात्रुहरु जो नयाँपुल पारीका छन् उनीहरुले बसका सिट भरिन्छन् । हामी उभिएर यात्रा गर्नु पर्दछ ।सिट बेगरमा यात्रु किन चढाएको भनेर हेमजाको म्याग्दीचोकमा प्रहरीले हामीहरुलाई ओरालिदिन्छ, हेमजा चल्ने बसहरु पनि घट्टेखोलासम्म भन्दा माथि जादैनन् । घर अगाडिबाटै सयौं यात्रुबाहक वसहरु गुडे पनि कतिपय अवस्थामा हिडेरै घर जानु पर्ने गरेको आफुहरुको बाध्यता रहेको ढिकुरपोखरी ४, क्याम्पसगेटकी सङगिता भण्डारीले बताइन् ।

यता आज नै प्रहरीको रोहवरमा ढिकुरपोखरीबासी एवम् पृथ्वी राजमार्ग बस संचालक समिति बीच पोखरामा वार्ता भएको छ । वार्तामा यहि भदौं १५ गतेसम्ममा पृथ्वीचोकबाट नयाँपुल सम्मका लागि छुट्टै बसहरुको व्यवस्था गरि त्यस क्षेत्रको यातायात समस्या समाधान गरिने लिखित सहमति भएको जनाइएको छ ।

कमेन्टहरु
Loading...