अख्तियारको पत्रलाई चुनौती दिदै ८ हजार किलो सुपारी पक्राउ

भारतीय र नेपाल प्रहरीले शुक्रबार नेपाल–भारत सिमाको दशगजा क्षेत्रबाट आठ हजार किलो सुपारी बरामद गरेको छ। तेस्रो देशबाट आयात गरेर लुकाइछिपाइ भारत निकासी गर्न दसगजा क्षेत्र पुर्‍याइएको सुपारी तस्करी गरिरहेकै अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक नलप्रसाद उपाध्यायको नेतृत्वमा खटिएको प्रहरीले गैरीगाउँ र साठीबिघा क्षेत्रको दसगजाबाट ६ हजार दुई सय किलो सुपारी बरामद गरेको हो। भारतीय प्रहरीका एसिपी श्रीहरि पाण्डेसहित १५ जनाको संख्यामा खटिएको टोलीले नेपालबाट तस्करी गरी भारतको दसगजा पुर्‍याइएको दुई हजार किलो सुपारी पानीट्याङकीदेखि बतासीसम्म छापा मारी पक्राउ गरेको हो।
डिएसपी उपाध्यायका अनुसार बोरामा प्याक गरेर भारत निकासी गर्न लागेका बखत छापा मारिएको थियो। पछिल्लो समय नेपाल र भारत दुबैतिरका सुरक्षा अधिकारीबीच सुपारी तस्करी नियन्त्रण गर्ने सहमति बनेको छ। त्यही सहमति बमोजिम दुबैतर्फका सुरक्षाकर्मी आ–आफ्नो क्षेत्रमा सुपारी बरामद गर्न खटिएका थिए।
‘तस्करी भइरहेको सूचना आएपछि दुबैतिरबाट संयुक्त परिचालन भएर सुपारी पक्रिएको हो,’ उपाध्यायले भने, ‘सुपारी तस्करी नियन्त्रणमा दुबैतिरका सुरक्षाकर्मीले समन्वय गर्ने सहमति बनेको छ।’ बरामद सुपारी भन्सार बुझाइएको प्रहरीले जनाएको छ।
एलसी खोलेर मलेसिया, सिंगापुर र इन्डोनेसियाबाट नेपाल आयात गरी पुनः भारत चोरी निकासी गर्दै आएका व्यापारीका काँकडभिट्टमा दुई दर्जन सुपारीका फर्म सक्रिय छन्। व्यापारीले सर्वसाधारण प्रयोग गरेर भारत तस्करी गर्ने गरेका छन्। नेपाल भारत वाणिज्य सन्धि तथा अन्तर्राष्ट्रिय कानुनअनुसार तेस्रो देशबाट आयातित सुपारी पुनः भारत निकासी गर्न पाइँदैन।
प्रहरीले कडाइ गरेपछि सुपारी चोरी निकासी कम हुँदै गएपछि यसको मूल्य भने बढेको छ। प्रहरीका अनुसार तेस्रो देशको सुपारी पहिले ९० रूपैयाँ प्रतिकिलो थियो। प्रहरीले कडाइ थालेपछि एक सय ३० रूपैयाँ महंगो भएको छ। सुपारीको मूल्य बढेसँग चोरी निकासीमा फाइदा देखेर सर्वसाधारण लोभिने गरेका छन्। २०६२/०६३ को जनआन्दोलनका दमनकारी आरोप लागेका लोकमानसिंह कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्ति भएको भोलिपल्टै तेस्रो देशबाट आयातित सुपारी भन्सारबाट कानुनी रूपमै भारत निकासी गर्ने बाटो खुलेपछि तस्करहरू उत्साहित छन्। वैशाख २६ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली सुपारी भारत निकासी गर्न बाटो खोल्दिएको थियो।
यसअघि आयोगले नै नेपाली सुपारीको प्रज्ञापन बनाएर विदेशी सुपारी भारत निकासी गरेको भन्दै विराटनगर भन्सारबाट सुपारी निकासी र उत्पत्तिको प्रमाणपत्र जारी गर्नै रोकेको थियो। व्यापारीले सात हजार मेटि्रक टन सुपारी विदेश निर्यातको प्रमाणपत्र जारी गरिसकेका छन्। २०६९ वैशाख ३१ गते तेस्रो देशबाट आयातित सुपारी निकासी भएको भन्दै भन्सार नाकाबाट तीन ट्रक सुपारी प्रहरीले बरामद गरेको थियो। उक्त सुपारीको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ।
 आयोगले पत्र पठाइसके पनि नेपाली सुपारीको कोटामा विदेशी सुपारी निकासी हुने आशंकाले विराटगनर भन्सार कार्यालय सशंकित छ। यसले सर्वोच्चको फैसला आएपछि मात्र टुंगोमा पुग्ने जनाएपछि विराटनगर भन्सारबाट सुपारी छिर्न पाएको छैन।
अहिलेसम्म निकासी गर्न नदिए पनि आयोगबाट आएको पत्र र निकासीकर्ताको चर्को दबाब आउन थालेपछि भन्सार अधिकारी पनि सुपारी छोड्नुपर्ने परिस्थितिमा पुगेको स्रोतले जनाएको छ। ‘अख्तियारबाट आएको पत्र पाइसकेका छौं, यो पत्रको आशयअनुसार निकासी अनुमति दिन दबाब छ,’ विराटनगर भन्सारका एक अधिकारीले भने।  cp.setopati.com
कमेन्टहरु
Loading...