माओवादी र मसालवीच झण्डै माइक खोसाखोस

१७ जेठ, काठमाडौं । ३३ दलीय गठबन्धन को नेतृत्व गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मोर्चाभित्रै अन्य गठबन्धनको अस्तित्वलाई बेवास्ता गर्दै आफ्नो पार्टीको मात्रै नारा लाद्ने गरेको मसालका नेताले आरोप लाएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि विरोध प्रदर्शन गर्नेक्रममा वैद्य पक्षका नेता र मसालसमर्थित राष्ट्रिय जनमोर्चाका नेतावीच सार्जजनिकरुपमै भनाभन भएको नेताहरुको गुनासो छ ।

‘वैद्यजीहरुसँग संयुक्त मोर्चा बनाएर जान सकिन्छ कि भनेर हामीले पटक-पटक छलफल गर्यौं, तर उहाँहरु संयुक्त मोर्चा भन्दै आफ्नै पार्टीको नारामात्र लाद्न खोज्नुहुन्छ ।’ चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका एक नेताले अनलाइनखरसँग भने, ‘संयुक्त मोर्चाको संस्कार उहाँहरुमा नदेखिएपछि हामीले ३३ दलमा सामेल भएर वैद्यजीहरुसँगै सती जान सकेनौं । अहिले पनि उहाँहरु ३३ दलका नाममा अरुलाई खेलाइराख्नुभएको छ ।’

राष्ट्रपति कार्यालयअगाडि नारा लगाउँदा वैद्य पक्षका नेता हितमान शाक्यले त्यस्तो नारा नलगाउन दबाव दिएको जनमोर्चाका कार्यकर्ताको गुनासो छ । ‘रेग्मी नेतृत्वको सरकारले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको विरोधमा राष्ट्रपति कार्यालयअगाडि गरिएको प्रदर्शनमा ३३ दलसँगै हामी पनि सहभागी थियौं ।’ जनमोर्चाका नेताले भने- ‘तर, हितमान शाक्यले हामीलाई नारा नलगाउन दबाब दिए । उनीहरुचाँहि संयुक्त मोर्चाका नाममा नेकपा-माओवादी जिन्दावाद, महान जनयुद्ध जिन्दावाद भनिरहेका थिए ।’

राष्ट्रपति कार्यालयअगाडि आफूहरुले ‘संविधानसभाको निर्वाचन सुनिश्चित गर्’ भन्ने नारा लगाउँदा माओवादी नेता शाक्यले चुनाव सुनिश्चित गर् भन्न नहुने बताएका थिए । तर, आफूहरुले निर्वाचन भाँड्न होइन, सफल बनाउन चाहेको जनमोर्चाका नेताहरुले शाक्यलाई जवाफ दिएका थिए । ‘उनीहरु माइक नलिई आएका थिए, हामीसँग हातेमाइक थियो । उनीहरुले आफूचाँहि माओवादी जिन्दावाद भन्ने र हामीलाई पनि उनीहरुकै नारामा सामेल गराउन खोजिरहेका थिए ।’- जनमोर्चा नेताले अनलाइनखबरसँग भने-’मुखले संयुक्त मोर्चा भन्ने अनि उनीहरुको पार्टीको नारामा हामी हिँड्नुपर्ने ?’

राष्ट्रपति कार्यालय अगाडि झगडा परेपछि नेताहरुवीच फेरि छलफल भएको तर, बैठक सकेर बाहिर निस्कनासाथ माओवादी नेताहरुले आफ्नै दलको मात्रै एजेन्डा बोल्न गरेकाले आफूहरु ३३ दलमा सामेल नभएको मसाल समर्थित जनमोर्चाको गुनासो छ ।

वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा अशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मोर्चालाई समेत सहभागी बनाउन प्रयत्न गरे पनि संविधानसभाको चुनावलाई हेर्ने सवालमा वैद्यहरुको संकीर्णताकै कारण मोर्चा बन्न नसकेको दाबी जनमोर्चाका नेताको छ । वैद्य माओवादीको एजेन्डासँग नमिलेकै कारण नेकपा मालेका सीपी मैनालीले पनि असहमति राख्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । माओवादीका महासचिव रामबहादुर थापा बादलले पूवी नेपालमा कार्यरत सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदलाई पनि मोर्चामा सामेल हुन आग्रह गरे पनि अर्काको एजेन्डामा नबग्ने र चुनाव बहिस्कार नगर्ने भन्दै पालुङ्वाले बादलको प्रस्ताव अस्वीकार गरेका छन् । मोर्चामै सामेल रहेका किशोर विश्वासलगायतका नेताहरु पनि वैद्यको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । रेग्मी सरकार विरुद्ध आन्दालेनको वस्तुगत आधार अनूकूल बन्दै गए पनि वैद्य पक्षका नेताहरुले नेतृत्व र पहलकदमी लिन नसकेको विश्वास समूहले गुनासो गर्न थालेको छ ।

वैद्य माओवादीको कार्यशैलीबारे गुनासो गर्दै जनमोर्चाका एक नेताले भने- ‘यिनीहरुसँग संयुक्त मोर्चाको संस्कारै छैन । उनीहरु आफैंवीच पनि एकता छैन । मात्रिका यादव, मणि थापाहरुसँग अहिलेसम्म एकता गर्न सकेका छैनन् । ३३ दललाई भँजाएर आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयत्नमात्रै गरिराखेका छन् । चुनावमा नजाने हो भने के गर्ने ? उनीहरुसित सही कार्यदिशा छैन । संविधानसभाको चुनावबाट बन्ने संविधान भन्दा गोलमेच सम्मेलनबाट जारी हुने संविधान प्रगतिशील हुनै सक्दैन ।’

– See more at: http://www.onlinekhabar.com/2013/05/76842/#sthash.wr0ZAzw9.dpuf

कमेन्टहरु
Loading...