नेपाल जेसीजको अध्यक्षमा रविन्द्र गुरुङ

पोखरा, २३ साउन/पोखरा जेसीजका पूर्व अध्यक्ष रविन्द्र गुरुङ नेपाल जेसीजमा सर्वसम्मत चयन भएका छन् । काठमाण्डौंमा शुक्रबार भएको विशेष साधारणसभाले गुरुङलाई सन् २०१६ को बाँकी कार्यकालका लागि निर्विरोध अध्यक्ष पदमा चुनेको हो । सन् २००४ मा पोखरा जेसीजमा आबद्ध गुरुङ २०११ मा अध्यक्ष भएका थिए । २०१३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा २०१४ मा राष्ट्रिय अध्यक्षीय सल्लाहकार समेत बने ।

रविन्द्र गुरुङ
रविन्द्र गुरुङ

गत डिसेम्बरमा महेन्द्रनगरमा भएको ४३ औं राष्ट्रिय महाधिवेशनले जगतबहादुर पोख्रेललाई अध्यक्ष निर्वाचित गरेकोमा उमेरहद विवादका कारण अन्तर्राष्ट्रिय जेसीजले निलम्बन गरेको थियो । लगत्तै अन्तर्राष्ट्रिय जेसीज मुख्यालयबाट विशेष साधारणसभा गर्न निर्देशन भएबमोजिम बाँकी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो । चालिस वर्ष कटेका जेसीज सदस्य हनुबाट अयोग्य ठहरिनेछन् ।

अध्यक्ष पदमा आठजनाले उम्मेदवारी दर्ता गरेपनि अन्तिममा सात जनाले गुरुङलाई नै अध्यक्षमा स्विकार गरे । पोखरा लेडी जेसीजकी संगीता पौडेलसँगै नंकीसिनेवारी जेसीजकी रीता न्यौपाने, धरान जेसीजका विष्णु बराल, जनकपुर जेसीजका मनिषरमन शाह, त्रिभुवन नगर जेसीजका निशान्त आचार्य, नारायणगढ जेसीजका विष्णु लम्साल र बाग्लुङ जेसीजका सुदीपराज भण्डारीले अन्तिममा नाम फिर्ता लिएका हुन् ।

विशेष साधारणसभाबाट अध्यक्ष मात्र चयन गरिएको हो । ४३ औं महाधिवेशनबाट निर्वाचित १२ उपाध्यक्ष र चार कार्यकारिणी उपाध्यक्ष यथावत् छन् । विधानानुसार अध्यक्षले मनोनित गर्ने महासचिव पदमा बुटवल जेसीजका कृष्णदेव भण्डारी, कोषाध्यक्षमा जनकपुर जेसीजका मनिषरमण शाह, कानुनी सल्लाहकारमा नारायणगढ लेडी जेसीजकी मनसा थैव श्रेष्ठ, ट्रेनिङपुल चेयरम्यानमा शारदानगर जेसीजका सोम भण्डारी तथा बोर्ड चिफ एड्भाईजरमा पोखरा लेडी जेसीजकी संगीता पौडेललाई चयन गरिएको छ ।

गुरुङको कार्यकाल अब डिसेम्बर ३१ सम्म मात्रै हो । ४४ औं राष्ट्रिय महाधिवेशन काठमाण्डौको धापासीमा हुनेछ । गुरुङले सर्वसम्मत जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिँदै छोटो अवधिमा पनि राम्रो कार्य गर्ने प्रतिक्रिया दिए । ‘प्राविधिक कारणले संस्थालाई असर पुग्यो । विश्व जेसीमाझ धमिलिएको छविलाई पहिले जस्तै बनाउन मेरो प्रयास हुनेछ ।’– गुरुङले भने ‘अन्तर्राष्ट्रिय जेसीजले पनि यो कदमलाई स्वागत गरिसकेको छ । पुर्ववत् अवस्थामा हामी फर्किसकेको अवस्था छ ।’ अहिलेसम्म पोखरा जेसीजबाट राष्ट्रिय अध्यक्ष बन्न चार जना सफल भएका छन् । यसअघि, हरिकृष्ण बास्तोला, बिकलप्रसाद शेरचन र राजु केसीले नेपाल जेसीजलाई हाँकेका थिए ।

कमेन्टहरु
Loading...