मोबाइलमै सीमित भयो विद्यार्थीको ‘प्रचण्ड मतदान’

१६ जेठ, काठमाडौं । ‘आयो साथी आयो साथी नयाँ स्ववियुको निर्वाचन, अखिल क्रान्तिकारीलाई दिउँ दिउँ दिउँ, प्रचण्ड मतदान …’ मोवाइल फोनको यस्तो रिंगब्याक टोन सुनेर बिहीबार दिउँसो अखिल क्रान्तिकारीका नेता मदन अर्याललाई फोन गर्ने साथीले जिस्क्याए । ‘स्ववियु चुनाव त स्थगित भयो हैन र, अब कसरी दिने त ‘प्रचण्ड मतदान’ ? भनेर साथीहरुले ठट्टा गरेका छन्’ अर्यालले अनलाइनखबरसित भन्नुभयो- ‘चुनावको तयारी युद्धस्तरमा भैरहेका बेला बिहीबार अचानक चुनाव स्थगित हुँदा आक्रोससँगै यस्तो ठट्टा पनि हुन थालेको छ ।’

जेठ २३ गते स्ववियु चुनाव हुन्छ भनेर मुख्य विद्यार्थी संगठनहरुले प्रचार-प्रसारका अरु तरीकासँगै मोवाइलमा रिंगब्याक टोनको नयाँ प्रविधि पनि प्रयोग गरेका थिए । आकर्षक शब्द, लय र स्वर मिसाएर बनाइएको यस्तो रिंगब्याक टोन बनाउन ३० देखि ४० हजार रुपैंयासम्म खर्च भएको छ ।’भित्ते लेखन, ब्यानर र पर्चा पम्पलेटसँगै रिंगब्याक टोनमा पनि धेरै खर्च भएको छ’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले भन्नुभयो-’यतिका मेहनत खेर जाने भयो, अब यो रिंगब्याक टोन के गर्ने, लाजमर्दो भयो ।’ अनेरास्ववियुले बनाएको मोवाईल रिंग ब्याक टोन चाहिँ यस्तो छ -’जेठ २३ को स्ववियु चुनावमा अनेरास्ववियुलाई जिताऔं….शिक्षा, स्वास्थ्य र रोजगारी मौलिक हक बनाऔं…..विद्यार्थीको जोड, अनेरास्ववियुलाई भोट ।’

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ पनि के कम ! उसले पनि हजारौं खर्च गरेर जोशिलो रिंग ब्याकटोन बनाएको छ । ‘आउ मिलाउ साथीहरु हातमाथि हात, यो स्ववियु निर्वाचनमा नेविसंघलाई साथ…’ नेविसंघका नेता कार्यकर्तालाई फोन गर्दा अहिले पनि मोवाइलमा यस्तो गीत बज्छ । ‘यो गीतमात्र नभएर अधिकारका लागि लड्ने आहृवान पनि हो’ नेविसंघका नेता ऋषिकेश साहले अनलाइनखबरसित भन्नुभयो-’चुनाव स्थगित भए पनि यो गीतको महत्व छ, तत्काल हामी हटाउँदैनौं ।’

वैद्य पक्षको गीत पनि अलपत्र

माउ पार्टीबाट छुट्टएिर पहिलोपटक स्ववियु चुनाव लड्न लागेको नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले पनि उस्तै चोटिलो र जोशिलो रिंग ब्याक टोन तयार पारेको छ । ‘भोट हालौं नयाँ अखिल क्रान्तिकारीलाई, बहुमतले जिताऔं अखिल क्रान्तिकारीलाई….’ वैद्य माओवादीका नेता कार्यकर्तासम्मका मोवाईलमा फोन गर्दा यस्तो गीत बज्ने गर्छन् । ‘२३ गतेसम्म त राख्ने हो, त्यसपछि के हुन्छ हेरौं’ वैद्यपक्षीय अखिल क्रान्तिकारीकी नेतृ आस्था घिमिरेले अनलाइनखबरसित भन्नुभयो ।

स्ववियू चुनाव स्थगित

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मुख्य विद्यार्थी संगठनका प्रतिनिधिबीचको छलफलमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भएको हो । चुनावी कार्यक्रम अनुसार बिहीबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने तालिका थियो ।

‘विद्यार्थी संगठनहरुबीच सहमति नभएपछि २३ गतेको चुनाव स्थगित भएको छ’ त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद शाखाका प्रमुख गंगाबहादुर थापाले अनलाइनखबरसित भन्नुभयो-’अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको छ ।’ विद्यार्थी संगठनहरुबीच सहमति भएर छिटो चुनाव भएमा अहिलेको प्रकृया फेरि शुरु हुने उहाँले जानकारी दिनुभयो । तर, अर्को चुनावको तिथि कहिले टुंगो लाग्छ भनेर यसै भन्न नसकिने उहाँको भनाइ छ ।’तालाबन्दी खोल्ने बिषयमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भयो’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो- ‘अहिलेसम्मका सबै गृहकार्य र मेहनत खेर गयो ।’ चुनाव स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकअर्कालाई दोष लगाएका छन् ।

एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र बैद्य माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आआफ्नो पकड भएका क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको हो । तर सबैले आफ्नो संगठनबाट नभएर अर्को विद्यार्थी संगठनले फर्जी भर्ना गरेको आरोप लगाएका छन् । यसैवीच स्ववियु स्थगन गर्ने बैठकमा सहभागी भएको एमाओवादी समर्थित अखिल क्रान्तिकारी स्ववियु चुनाव स्थगनको विरोध गरेको छ । ‘जुनसुकै हालतमा पनि चुनाव गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’- क्रान्तिकारीका केन्द्रीय नेता मदन अर्यालले अनलाइनखबरसँग भन्नुभो । त्यसैगरी एमाले अनेरास्ववियू नेतृ राधिका ख.डकाले पनि चुनाव स्थगनको विरोध गर्दै अर्को तिथि तत्काल तोकिनुपर्ने बताउनुभएको छ । चुनाव स्थगन गर्ने बैठकमा एमाओवादी, एमाले, कांग्रेस र वैद्य माओवादी समर्थित विद्यार्थी संगठनका नेताहरुको सहभागिता थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/76495/#sthash.fM0uHxO3.dpuf

कमेन्टहरु
Loading...