कृषि बुझ्न पोखरा उद्योग बाणिज्य संघको टोली चीन तर्फ

पोखरा, ११ साउन / पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाको नेतृत्वमा रहेको एक प्रतिनिधीमण्डल सोमबार मित्र राष्ट्र चीन प्रस्थान गरेको छ । 
चीनको फुजियान प्रान्तमा पर्ने लिन्जी नगरपालिकासहितका अन्य नगरको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको टोलीमा संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचन र कार्यसमिति सदस्य तथा नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे समेत सहभागि रहनु भएको छ ।
यसैगरी प्रतिनिधीमण्डलमा उपल्लो मुस्ताङको छुसाङको समरथा स्याउ फर्मका नविनकुमार गुरुङ, मनाङको चामेमा क्युपार स्याउ फारामका छिरिङ ग्याल्पो लामा,मुस्ताङको ताङ्वे गाउँमा ग्रिन ताङ्वे स्याउ फार्म संचालन गर्दै आउनु भएका सुन्दर गुरुङ, कास्कीको धम्पुसस्थित गुरुङ प्राङ्गारिक चिया बगानका समबहादुर गुरुङ, कास्कीकै ल्वाङको अन्नपूर्ण चिया उप्पादक सहकारीको तर्फबाट इमानसिँह गुरुङ र  अरुण गुरुङ तथा मुस्ताङको मार्फा गाउँमा मार्फा प्राङ्गारिक फर्म संचालन गर्दै  आउनु भएका बिजय हिराचन रहनु भएको छ ।
११ दिने भ्रमणको क्रममा प्रतिनिधिमण्डलले चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा,लिन्जी, फुजाओ प्रान्तको फुजाओ सहर, फुजियाङ प्रान्त, हुवाई सहर तियामेन लगायतका स्थानहरुको भ्रमण गर्नेछ । चीनले अवलम्बन गरेको कृषि प्रणालीको अध्ययन अवलोकन भ्रमणको मुख्य उदेश्य  हो । प्रतिनिधिमण्डलका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाका अनुसार भ्रमणको क्रममा टोलीले त्यहाँका विभिन्न कृषि फर्म तथा किसानहरुको गतिविधीबारे अध्ययन अवलोकन गर्नेछ ।
भ्रमणको क्रममा त्यहाँको होमस्टे संचालनबारे समेत जानकारी हाँसिल गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा,स्वास्थ्य, पर्यटनको सहरको रुपमा विकासका साथै  कृषिको व्यवसायिकरणमा समेत जोड दिँदै आएको छ । संघले केही वर्ष पहिला कास्कीकै अर्मला गाविसलाई नमूना च्याम्बर भिलेजको रुपमा ग्रहण गर्दै सो क्षेत्रको कृषिलाई व्यवसायिकरण गर्न विभिन्न खाले तालीमहरु प्रदान गरेको थियो ।
अहिले संघले यहाँको सार्दीखोला गाविसलाई ‘कृषिको लागि विशेष आर्थिक क्षेत्र, सार्दीखोला’ घोषणा गरी त्यस क्षेत्रको कृषिलाई व्यवसायिकरण गर्ने लक्ष्य लिएको छ । संघले कास्कीकै ल्वाङ घलेल गाविसमा व्यवसायिक आलमण्ड खेतीको लागि संस्थागत पहल गरेको थियो । सोही पहलका कारण त्यहाँ मर्दीहिमाल सहकारीकोतर्फबाट व्यवसायिक आलमोण्ड खेतीको सुरुवात समेत गरिएको छ ।
कमेन्टहरु
Loading...