फिर्के–बुलौदी सफाइ अभियानमा २५ हजार सहभागी

पोखरा, १ साउन/पोखरामा जारी फिर्के–बुलौंदी सफाइ अभियानको सातौं श्रृंखला पूरा भएको छ । हालसम्म करिब २५ हजार जनाले यस अभियानमा साथ दिँदै फोहोर संकलनमा सहभागी भएका छन् ।

अभियान संयोजक रामबहादुर पौडेलले अभियानमा सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेका छन् । सातौ श्रृंखलामा नेपाल सरकारका मुख्यसचिव डा.सोमलाल सुवेदी समेत उपस्थित थिए । उनले सहभागी सम्पूर्णलाई सरसफाइमा सचेत हुनुपर्ने भन्दै सपथ खुवाएका थिए ।

शनिबार खेलकुद विकास समिति, कस्केली अधिकृत समाज, युवा संगति पोखरा, ड्राइभिङ स्कुल संघ गण्डकीले ऐक्यबद्धता जनाउँदै सहभागी थिए । उक्त कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय सचिव एवं वर्तमान सल्लाहकार हेरम्बराज कोइरालाले २० कार्टुन पानी सहयोग गरे । त्यस्तै, तारा मिनरल वाटर विभरेज एण्ड फुड इन्डष्ट्रिजका संचालक प्रदीप तुलाचनले १० कार्टुन पानी सहयोग गरे ।

शनिबार नेपाल स्काउट कास्की कार्यालय परिसर टुँडाकोपाटनबाट सरसफाइ सुरु गरिएको थियो । कार्यक्रममा धारापानी आमा समूहले ३० थान ग्लोब र ३ थान डोको, मासबार निवासी मीना शर्मा र रवीन्द्र शर्माले १० थान डोको उपलब्ध गराइ सरसफाइमा सहयोग गरेका थिए ।

कमेन्टहरु
Loading...