बिनिता बरालको उपन्यास जुइनो बजारमा

काठमाडौं, ३१ असार /मोडल तथा अभिनेत्री बिनिता बरालको पहिलो उपन्यास जुइनोको विमोचन एक समारोहबीच भयो । पुस्तक विमोचन अभिनेत्री ऋचा शर्मा तथा लेखिकाले संयुक्त रुपमा गरे ।

लेखक बरालले चपली हाइट लगायतका फिल्महरुमा अभिनय गर्नुका साथै थुप्रै मोडलिङ पनि गरेकी छिन् । अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दे गरेकी बराल पुस्तक विमोचनका लागि नेपाल आएकी हुन् ।

बिनिता बरालको उपन्यास जुइनो बजारमा
बिनिता बरालको उपन्यास जुइनो बजारमा

पुस्तक विमोचनपछि पुस्तकबारे कुराकानी गर्दै अभिनेत्री शर्माले मोडलिङ, फिल्म र कृषी व्यवसायमा लागेको बरालले कसरी उपन्यासतर्फ आउनुभयो भनेर सोधिन् । उत्तरमा बरालले भनिन्, ‘कृषी व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेको थिएँ । तर, पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन ।’

आफूले पढेको राम्रो नेपाली प्रेम कथाहरुमध्येको एक ‘जुइनो’ले वैदेशिक रोजगार, छुवाछुट, पृतिसत्तात्मकता जस्तो नेपाली समाजका धेरै कुरा छोएको छ भन्दै शर्माले बरालको पढ्ने बानीबारे पनि सोधिन् । उत्तरमा बरालले भनिकी थिइन्, ‘मैले पहिला अलिअलि मात्र पढ्थें । तर, उपन्यास लेखिसकेपछि त्यसलाई पुर्नलेखन गर्ने क्रममा प्राविधिक ज्ञानका लागि थुप्रै नेपाली पुस्तक पढें ।’

उपन्यासको प्रमुख महिला पात्र, कथा, को नाम आफूलाई एकदमै मन परेको सुनाउँदै शर्माले बरालाई प्रमुख पात्रको नाम कथा कसरी रहन पुग्यो भनेर सोधिन् । ‘मलाई सधैं छोरी पाउँछु र उसको नाम कथा राख्छु भन्ने भइरहन्छ । त्यसैले पनि होला मैले उपन्यासको प्रमुख पात्रको नाम कथा राखेको,’ बरालले भनिन् ।

उपन्यास सिनेम्याटिक छ भन्दै शर्माले बराललाई उपन्यासलाई सिनेमा बनाउने सोच छ कि छैन भनेर पनि सोधिन् । कोही सिनेमा बनाउन इच्छुक भएर आयो भने बनाउन पनि सकिने कुरा बरालले बताइन् ।  पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य रु २९४ राखिएको छ ।

कमेन्टहरु
Loading...