लेखनाथ नगरपालिकाले मापदण्ड कार्यान्वयन नगरपालिकाबाटै सुरु गर्ने

पोखरा, ३१ असार /कास्कीको लेखनाथ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नगरवासीहरुको गुनासोको सुनुवाई गरेको छ । बिहिबार कार्यालय परिसरमै भएको सार्वजनिक सुनुवाईमा नगरवासीको गुनासोप्रति जवाफ दिँदै कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले सुधारका कार्य तत्कालै कार्यालयबाटै गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मापदण्डको विषयमा उठेको जिज्ञासामा उनले नगरपालिकाको कार्यालयको पश्चिमपट्टी रहेको टुँडोको पर्खाल हटाएर मापदण्ड कार्यान्वयको शुरुवात गर्ने बताए । त्यसैगरी कर्मचारीको व्यवहार र अनुचित लाभ लिएको विषयमा कार्यकारी अधिकृतले कर्मचारीको लागि खाजा खान निर्धारण गरिएको समयमा समेत निगरानी राख्ने र तत्काल वडा सचिव सहित सबै कर्मचारीलाई एकै ठाँउमा राखेर सबै खालका अनुशासनमा ध्यान दिन निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लेखनाथ नगरपालिकाले मापदण्ड कार्यान्वयन नगरपालिकाबाटै सुरु गर्ने
लेखनाथ नगरपालिकाले मापदण्ड कार्यान्वयन नगरपालिकाबाटै सुरु गर्ने

सार्वजनिक सुनुवाईमा सहभागी सेवाग्राहीले कर्मचारीहरुले सेवाग्राहीबाट अनुचित लाभ लिने गरेको, नातावाद र कृपावाद मौलाउन थालेको, राजनीतिक आस्थाका आधारमा काम गर्ने गरेको, सेवाग्राहीको समस्यालाई ध्यान दिन नखोजेको, सेवा ग्राहीलाई हप्काउने गरेको लगायतका गुनासो गरेका थिए । त्यसैगरी प्राविधिक कर्मचारीहरुले समयमा सेवा दिन नसकेको, प्राविधिक कर्मचारीहरुलाई रकम नदिए काम नगर्ने गरेको गुनासो पनि नागरिकहरुको थियो ।

लेखनाथ नगरपालिकामा निर्धारण गरिएको सडक तथा भवन मापदण्ड कार्यान्वयन नभएको, विकास निर्माणमा गुणस्तर कायम हुन नसकेको, प्रभावकारी अनुगमन हुन नसकेको, ताल संरक्षणमा नगरपालिकाले ध्यान दिन नसकेको, पूर्वाधार निर्माण मैत्रीपूर्ण हुन नसकेको, लक्षित वर्ग कार्यक्रमले लक्षित वर्गलाई समेट्न नसकेको लगायतका गुनासो गरेका थिए ।

पाँच बुँदे प्रतिवद्धता
सार्वजनिक सुुनुवाई कार्यक्रममा सहभागी नगरवासीहरुको प्रश्न तथ गुनासोको सुनवाई पछि लेखनाथ नगरपालिकाले पाँच बुँदे लिखित प्रतिवद्धता जारी गरेको छ । चिया खाजाखाने निर्धारित समय पालना गर्ने, अनुचित लाभ लिएको गुनासो आएकोले तत्काल सबै कर्मचारीलाई अनुशासनमा रहन निर्देशन जारी गर्ने गरी सेवा प्रवाहमा सुधार गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी लेखनाथ नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको कार्य तत्काल शुरु गर्ने र पहिलो चरणमा पार्क तथा उद्यानको लागत अद्यावधिक गर्ने कुरा पनि उल्लेख गरिएको छ । लेखनाथ नगरपालिका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी सहित विज्ञ कर्मचारीले हस्ताक्षर गरेको प्रतिवद्धता पत्रमा नगरपालिकाको कार्यालयबाटै सडक तथा भवन मापदण्डको कार्य शुरु गर्ने र नगरपालिकाको कार्यालयको दक्षिण तर्फको ¥याम सुधार गरी अपाङ्ग मैत्री बनाएर मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माणको कार्य पनि तत्काल शुरु गर्ने कुरा लेखिएको छ ।

त्यसैगरी लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि खुल्ला प्रतिश्पर्धाको आधारमा संघसंस्थाहरुसँग लक्षित वर्ग कार्यक्रम सञ्चालनको सम्झौता गरी कार्य अघि बढाउने कुरा पनि उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...