१२ जेठ, काठमाडौं । राजधानीमा जारी गोर्खा कप फुटबलमा मनाङ मर्स्याङ्दीले टुसाल युथ क्लबलाई १२-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एकपक्षीय खेलमा अनिल गुरुङ एक्लैले ४ गोल गरे ।
खेलको ८ औं मिनेटमा नविन न्यौपानेको गोलबाट अग्रता लिएको मनाङका लागि ३० औं मिनेटमा सुजल श्रेष्ठले अग्रता दोब्बर पारे । मच्छिन्द्रबाट मनाङ गएपछि पहिलो खेल खेल्दै गरेका दिपक राईले ३२ औं मिनेटमा गोल गरे भने सरस्वतीबाट गएका योना इलियासले ३६ औं मिनेटमा गोल गरे । ३८ औं मिनेटमा अनिल गुरुङले गोल गरेपछि पहिलो हापमा मनाङ ५-० ले अघि रहृयो ।
दोस्रो हापको केही समय टुसालले मनाङलाई गोल गर्न रोके पनि धेरैवेर सकेन । ७५ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा फेरि गोलको बर्षा नै भयो । ७९ र ८१ औं मिनेटमा रुपेश केसीले २ गोल गरे भने ८५ औं मिनेटमा अनिलले हृयाट्रिक पुरा गरे । ८६ औं मिनेटमा शिव श्रेष्ठले, ८८ औं मिनेटमा अनिल गुरुङ र अन्तिम मिनेटमा योनाले गोल गरेपछि मनाङ १२-० ले विजयी भयो ।
– See more at: http://www.onlinekhabar.com/2013/05/74984/#sthash.NYqOs34D.dpuf