पुनरावेदन वार पोखराको अध्यक्षमा गौतम

पोखरा, २० असार/पुनरावेदन अदालत वार एशोसिएसन पोखरामा दयाराम गौतम नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत १३ सदस्यीय कार्यसमितिमा डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) को तर्फबाट गौतम नेतृत्वको मात्र एकपक्षीय उम्मेदवारी परेकोले उक्त कार्यसमिति सर्वसम्मत निर्वाचित भएको आइतबार घोषणा गरिएको हो ।

दयाराम गौतम
दयाराम गौतम

निर्वाचन समिति संयोजक फणिन्द्रराज कोइरालाका अनुसार असार २५ गते निर्वाचन हुने गरी प्रकाशित निर्वाचन कार्यक्रमअन्तर्गत असार १९ लाई उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएकोमा डिएलएको तर्फबाट मात्र सम्पूर्ण १३ सदस्यीय पदमा उम्मेदवारी परेकोमा स्वतः सर्वसम्मत भएको घोषणा गरिएको हो ।

आगामी २ वर्षे कार्यकाल रहने नयाँ कार्यसमिति उपाध्यक्षमा दीपक बास्तोला, सचिवमा शिवराज वाग्ले, कोषाध्यक्षमा प्रभास पराजुली र सहसचिवमा कृष्णकुमारी गुरुङ छन् । सदस्यमा प्रकाश मिश्र, राजेन्द्रमान श्रेष्ठ, हरिबहादुर भुजेल, भानुभक्त शर्मा कँडेल, वीनिता नेपाली, विमला खत्री, भुवानीप्रसाद बराल र केशवरमण पराजुली छन् ।

आफूसँग सहमति नगरी डिएलएले एकपक्षीय उम्मेदवारी घोषणा गरेको भन्दै निर्वाचनमा एमाले निकटको पिपिएलए र माओवादी निकटको आरपिएलसँग आबद्ध कानुन व्यवसायीले मनोनयन दर्ता गरेनन् । वार एशोसिएसन पोखरामा हाल तीन सय ८८ जना सदस्य छन् ।

कमेन्टहरु
Loading...