मध्य असारमा जल्यो जङ्गबहादुरको घर

कास्की, १८ असार /कास्कीको ढिकुरपोखरी गाविस वडा नं १ स्थित जंगबहादुर विकको घरमा आगलागि हुँदा करिब २ लाख बराबरको क्षति भएको छ ।

शनिबार पूर्वान्ह साढे ११ बजेतिर घरको चुल्होबाट फैलिएको आगोले घरमा रहेको नगद ८ हजार ५ सय, आठ मुरी धान, अन्य विभिन्न अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको स्थानीय भीम सुवेदीले जानकारी दिनुभयो ।

वर्षायाम भएपनि खरले छाएको घर भएका कारण आगो छिटै फेलिएकाले नियन्त्रणमा लिन गाह्रो भएको उहाँले जानकारी दिनुभयो । घरधनी जंगबहादुर खेत जोत्न गएका बेला आगो लागेको हो । आगलागि भएको थाहा भएपछि पुगेका स्थानीय छिमेकहीहरुले आगो नियन्त्रणमा लिएका थिए उनीहरुले गोठमा रहेको भैँसी भने जोगाउन सफल भएका छन् ।

जंगबहादुर निम्न वर्गका किसान हुन् । उनी श्रीमती सहित उक्त घरमा बस्दै आएका थिए । वर्षभरी अरुको हलो जोतेर जीवनयापन गर्दै आएका जंगबहादुरको बस्ने बास मध्य असारका बेला जलेपछि अहिले उनलाई सहयोग गर्नेहरुको खाँचो छ ।

कमेन्टहरु
Loading...