प्लटिङ्ग गर्दा बनाइएको पर्खालले दुई अबोध विद्यार्थीको ज्यान लियो

ललितपुर, १७ असार/ललितपुरको टौखेलमा जग्गा प्लटिङ्ग गर्दा बनाइएको पर्खाल भत्किँदा २ जना स्कुले विद्यार्थीको ज्यान लिएको छ । लगातारको वर्षाका कारण शुक्रबार बिहान पर्खाल भत्किँदा टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलका ९ वर्षिय कृपा राई र १० वर्षिय अन्जना पुन मगरको मृत्यु भएको हो।

करिब ९ फिट अग्लो पर्खाल पर्खाल भत्किँदा कक्षा कोठामा पढिरहेको अवस्थामा राई र मगरको मृत्यु भएको हो। प्लटिङ्गको पर्खालले ३ र ८ कक्षाको कोठा भत्काइदिएको थियो । दुई वटा कोठा भत्किंदा २६ जना विद्यार्थी घाइते भएका छन्। घाइते अधिकांश ३ कक्षाका विद्यार्थी हुन् । घाइतेमध्ये २१ जनाको बी एण्ड बी तथा ३ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्लटिङ्ग गर्दा बनाइएको पर्खालले दुई अबोध विद्यार्थीको ज्यान लियो
प्लटिङ्ग गर्दा बनाइएको पर्खालले दुई अबोध विद्यार्थीको ज्यान लियो

२ जना भने उपचारपछि घर फर्किएका छन्। पाटन अस्पतालमा उपचाररत चार जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । अजय शाही, अनुप महर्जन, रोजिना लामा र सुनिता परियारको आइसीयुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अभिभावकहरुले प्लटिङ्गको पर्खालले कक्षा कोठा नै भत्किएर दुर्घटना हुनुमा विद्यालय र प्लटिङ्गवाला दुवै दोषी रहेको बताएका छन् । उनीहरुले प्लटिङ्गको पर्खाल कमजोर भएको बारेमा विद्यालयले आफूहरुलाई खबर नगरेको बताए ।

कमेन्टहरु
Loading...