पश्चिमाञ्चलमा छ महिनामा २ सय २० मानवअधिकार उल्लङ्घन

पोखरा, १५ असार /जिल्ला अदालतका न्यायाधीश अनन्तराज डुम्रेले बढ्दै गएको दण्डहीनतालाई न्यूनिकरणका लागि दलिय प्रतिवद्धता आवश्यक रहेको बताएका छन् ।

इन्सेक क्षेत्रीय कार्यालयद्वारा असार १५ गते पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार अवस्था सार्वजनिक कार्यक्रममा न्यायाधीश डुम्रेले पीडितलाई न्यायको प्रत्याभूतिका लागि हरेक तह र तप्काबाट निष्पक्ष अनुसन्धानमा जोड दिए । उनले मानवअधिकारको संरक्षणका लागि कानुनी शासनले मुर्त रुप लिनु पर्ने बताउँदै निष्पक्ष अनुसन्धानबाट नै न्यायिक निरुपणमा सहयोग पुग्ने धारण व्यक्त गरे ।

पश्चिमाञ्चलमा छ महिनामा २ सय २० मानवअधिकार उल्लङ्घन
पश्चिमाञ्चलमा छ महिनामा २ सय २० मानवअधिकार उल्लङ्घन

कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले सन् २०१६ को जनवरीदेखि जुनसम्म पश्चिमाञ्चल क्षेत्रमा २ सय २० जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीबाट पीडित भएको प्रतिवेदन प्रस्तुत गरे । उनले मानवअधिकार उल्लङ्घन र ज्याद्दतीबाट महिला र बालबालिका धेरै पीडित भएको र पछिल्लो छ महिनामा मात्रै १ सय १२ जना महिला र ७० जना बालबालिका हिंसामा परेको बताए ।

पश्चिमाञ्चलमा ७ जना महिला घरपरिवारबाट र १३ जना पुरुष अन्यबाट गरी २० जना नागरिकको हत्या भएको इन्सेक क्षेत्रीय कार्यालयले अभिलेख गरेको उल्लेख गर्दै संयोजक खकुरेलले ७ जना नागरिक जातीय भेदभावबाट पीडित भएको बताए । गैरराज्य पक्षबाट २ सय १४ जना र राज्यपक्षबाट ६ जना मानवअधिकार उल्लङघनबाट पीडित भएको उनले बताए ।

कमेन्टहरु
Loading...