राजनीतिमा अस्थिरता ल्याउने फोहोरी खेल नखेलौ –उपप्रधानमन्त्री थापा

पोखरा, १० असार/उपप्रधान एवं परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले राजनीतिमा अस्थिरता ल्याउने गरी फोहोरी खेल नखेल्न सबै राजनैतिक दलहरुसँग आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै थापाले जो सरकारमा आउन चाहनु हुन्छ आउनु होस तर राजनीतिमा अस्थिरता आउने गरे फोहोरी खेल नखेल्नु होस् ।

जनताका अनुहारमा हांसो र उज्यालो दिनु सबै राजनैतिक दलहरुको दायित्व हो भएको बताउदै उनले राजनैतिक परिवर्तन भइसकेपछि अब देशमा आर्थिक समृद्धि र विकास भएमा मात्रै जनताको अनुसारमा खुशियाली देख्न सकिने धारणा राखे । उनले वहुदलीय प्रजातन्त्रको व्यवस्थाको आगमनपछि २५ वर्षको समयावधिमा २३ वटा सरकार गठन भएको स्मरण गराउंदै उपप्रधानमन्त्री थापाले एक÷एक वर्षमा प्रधानमन्त्री फेर्दै गयौं भने देश र दुनियामा के सन्देश जान्छ भनी चिन्ता व्यक्त गरे ।

स्थानीय निकाय पुर्नसंरचना आयोगले भदौ भित्रै प्रतिवेदन दिन सक्यो भने मंसीर महिनामा स्थानीय निकायको निर्वाचन सजिलैसंग गर्न सकिने विचार व्यक्त गर्दै उनले सरकार सबै राजनैतिक दलहरुसंग सहमति कायम गरेर मात्रै चुनावको घोषणा गर्ने बताए । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले पार्टी कार्यकर्ताहरु गाउँ गाउँमा गएर जनताको मन जित्ने काम गरी पार्टीलाई वलियो बनाउन आग्रह गरे । अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

कमेन्टहरु
Loading...