खानेपानीको मुहानमा टेण्डर नखोल्न भन्दै काङग्रेसद्वारा जिविस कास्कीको ध्यानकर्षण

पोखरा, ७ असार/पोखराको खानेपानीको मुख्य स्रोत मर्दी खोलाको मुहान नजिकै ढुङगा, गिटी, बालुवाको टेण्डर आव्हान गरिएकोभन्दै काङ्ग्रेसले विरोध गरेको छ।

मुहान नजिकैबाट ढुङगा, गिटी, बालुवा निकाल्न दिदाँ पोखरामा खानेपानीको आपुर्ति प्रभावित बन्ने र खानेपानी समेत प्रदुषित हुनेभन्दै काङ्ग्रेस पोखरा उपमहानगरपालिका समितिले विरोध गरेको हो। जिविस कास्कीले मर्दी मुहान नजिक ढुङगा, गिटी, बालुवा निकाल्नका लागि टेण्डर आव्हान गरेपछि जनगुनासो आइरहेको छ काङ्ग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठले भने – ‘सो टेण्डर रोक्नका लागि आग्रह गर्दछौ।’

जिविस कास्कीले निकालेको टेण्डरको विषयमा सोमबार नगर समितिको बैठकमा समेत छलफल भएको थियो। नगर सभापति बजिरमान श्रेष्ठ र सचिव रामजी कोइराला लगायतको टोलीले मङ्गलबार कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीलाई भेटेर त्यस विषयमा ध्यानाकर्षण गराएको कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए।

टोलीसँगको भेटमा स्थानीय विकास अधिकारी भण्डारीले खानेपानीलाई प्रभावित हुन नदिन अनुगमन गर्ने बताएका थिए। तर टोलीले भने सो टेण्डर रोक्न आग्रह गरेको काङग्रेस नगर समिति सचिव रामजी कोइरालाले बताए। टोलीले रामघाट क्षेत्रमा समेत अव्यवस्थित रुपमा गिटी, बालुवा निकालेकोभन्दै अनुगमन गर्न जिविस कास्कीको ध्यानाकर्षण गराएको छ।

कमेन्टहरु
Loading...