अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा, ४ असार/अपागंता भएका व्यक्तिहरुको पोखरामा शनिबार निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । राज्यले गर्नुपर्ने उक्त कार्यको जाँचोपाँजो भने लायन्स क्लब अफ पोखरा गण्डकी र नेपाल अपांग कल्याण संघ नेपालको संयुक्त प्रयासमा सम्भव भएको हो ।

पद्म नर्सिङ होम र पद्म नर्सिङ कलेजको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा मुटुरोग विशेषज्ञ डा. नारायण गौतमले विभिन्न अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गरेका हुन् । हेल्थ असिस्टेन्ट जीवन रेग्मी तथा होमका नर्सहरुले स्वास्थ्य परीक्षणमा सहयोग पु¥याएको लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डेले जानकारी दिइन् ।
उक्त कार्यक्रममा अपांगता भएका करिब ८० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण
अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

परीक्षणमा कतिपयको उच्च रक्तचाप, टाउको दुख्ने, पेटमा जूका, मधुमेहको समस्या देखा परेको थियो भने केहीको मुटुमा प्वाल, गिदीभित्र पानी जमेको, मृगौला कमजोर पाइएको डा. गौतमले जानकारी दिए । विभिन्न खालका रोगमध्ये जोखिम खालका रोगको थप डायग्नोसिस आवश्यक रहेको उनले बताए ।

निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पाइने भएपछि टाढा टाढाबाट पनि अपांगता भएका व्यक्तिहरु सिमलचौरस्थित सत्य साई केन्द्रमा पुगेका थिए । उनीहरुलाई ल्याउन स्टेप बाई स्टेप स्कुलले बस उपलब्ध गराएको लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्वअध्यक्ष इन्दिरा बरालले बताइन् ।

अपांगता भएका व्यक्तिमध्ये अधिकांशको आर्थिक अवस्था न्यून हुनु, स्वास्थ्यमा सहज पहुँच नहुनु र उपचारमा घरपरिवारबाट बेवास्ता हुने समस्या विद्यमान रहँदा शिविर फलदायी भएको नेपाल अपांग कल्याण संघका महासचिव कृष्णबहादुर भुजेलले बताए । संघका कार्यक्रम संयोजक डण्डपाणि ढकालले अपांगता भएका व्यक्तिको लागि अपांगतामैत्री वातावरण हुनुपर्नेमा जोड दिँदै राज्यले आफूहरुको लागि विशेष ध्यान दिनुपर्ने बताए ।

संघका अध्यक्ष सन्तबहादुर परियारले दृष्टिबिहीन, बहिरा र शारीरिक अपांगता भएका व्यक्तिहरु गरी संघमा एक सय ३० जना सदस्य रहेको जानकारी दिए । लायन्सका तर्फबाट कार्यक्रम संयोजक उषा गौतमले क्लबले आगामी दिनमा पनि यस्तै सेवामूलक कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । हामी सेवा गर्छौ भन्ने भावले स्थापित लायन्स क्लब अफ पोखरा महिलामात्र आबद्ध विश्वकै पहिलो लायन्स क्लब हो ।

कमेन्टहरु
Loading...