पोखरा पब्लिकका सन्देशले ल्याए ३.९५, कास्कीमै उत्कृष्ट भएको विद्यालयको दाबी

विजय नेपाल
पोखरा, ४ असार/हालै प्रकाशित एसएलसी नतिजामा सन्देश शर्माले कास्की जिल्लामा सबैभन्दा उत्कृष्ट अंक ल्याएको दाबी गरिएको छ । पोखराको चाउथे स्वागतनगरस्थित पोखरा पब्लिक स्कुलबाट एसएलसीमा सम्मिलित शर्माले ३ दशमलब ९५ ग्रेड ल्याएका हुन् । उनको नेपाली विषय बाहेक अन्य सबैमा ‘ए प्लस’ छ । शर्माले सिम्बोल नम्बर ०४१४०९० एन बाट परिक्षा दिएका थिए ।

‘हालसम्म जिल्लामा उनीबाहेक अन्य कसैले पनि ३ दशमलब ९५ ग्रेड ल्याएको थाहा छैन’ विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसीले भने, ‘नतिजाले हामीलाई निकै उत्साहित बनाएको छ ।’ आफूले ल्याएको ग्रेड जिल्लामा सबैभन्दा उच्च रहेको थाहा पाएपछि काठमाडौं रहेका सन्देशले पनि आफूलाई निकै खुसी लागेको सुनाए । उनलाई सबैतिरबाट बधाईको ओइरो लागेको छ ।

पोखरा पब्लिकका सन्देशले ल्याए ३.९५, कास्कीमै उत्कृष्ट भएको विद्यालयको दाबी
पोखरा पब्लिकका सन्देशले ल्याए ३.९५, कास्कीमै उत्कृष्ट भएको विद्यालयको दाबी

बूढानीलकण्ठ उच्च माविमा ए लेभलमा भर्ना भैसकेका उनी २ वर्षपछि विदेशमा गई पढ्ने र कस्मोलोजिष्ट भएर चन्द्रमा छुने लक्ष्य रहेको बताउँछन् । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेजस्तै उनले आफू नेपाललाई विज्ञानको क्षेत्रमा सगरमाथाजस्तै उचाईमा पु¥याउने पनि सुनाए ।

कक्षामा उनी निकै मेहनति र लगनशील रहेको सहकर्मी अनिषा अधिकारीले बताइन् । उनका बुवा फणिन्द्रप्रसाद शर्मा कालिका बहुमुखी क्याम्पसमा एकाउन्टेण्ट छन् भने आमा सरस्वती घरमै किराना पसल चलाउँछिन् । प्रारम्भिक शिक्षा ताराकुञ्ज सेकेण्डरी स्कुल पाटनबेसीमा पढेका उनले कक्षा ५ देखि पोखरा पब्लिक पढेका हुन् ।

पोखरा रामघाटमा जन्मिएका शर्माको घरपरिवार अहिले चाउथेमै बस्छ । उनकी जुम्ल्याहा बहिनी सदीक्षाले पनि एसएलसीमा ३ दशमलब ६ ग्रेड ल्याएकी छन् । जुम्ल्याहा सन्देश र सदीक्षाकी दिदी सम्बिधाले सोही स्कुलबाट २०६८ सालको एसएलसीमा डिस्टिङ्सन ल्याएकी थिइन् । पोखरा पब्लिकबाट एसएसलीमा ४५ जना परीक्षार्थी सम्मिलित भएकोमा ११ जनाले ए प्लस, १८ जनाले ए, ११ ले बी प्लस र ५ जनाले बी ग्रेड ल्याएका छन् ।

एसएसलसीमा आफ्नो विद्यालयले लगातार दुई पटक कास्की टप गरेको केसीको दाबी छ । सोही विद्यालयका सागर काफ्लेले पनि अघिल्लो वर्ष जिल्लामा सर्वोत्कृष्ट नतिजा ल्याएका थिए । उनले ९२ दशमलब ७ प्रतिशत ल्याउँदै जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको संस्थापक प्राचार्य केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...