सिआइबीको टोलीद्धारा १५ जना नक्कली डाक्टर पक्राउ

काठमाडौ, ३ असार/नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा १५ जनालाई पक्राउ गरेको छ । वीरगन्जबाट नौ, विराटनगरबाट ३ र चितवनबाट ३ जना गरि १५ जनालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडौँबाट वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चार निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो । नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसै गरि विराटनगरका चर्चित तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् ।

त्यसै गरि शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् ।

कमेन्टहरु
Loading...