महतोलाई भेट्न भारतीय राजदूत वीर अस्पतालमा

११ जेठ, काठमाडौं । भारतीय राजदूत जयन्त प्रसादले वीर अस्पताल पुगेर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्नु भएको छ । निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे माग राख्दै मंगलबारदेखि आमरण अनशनमा बसेका महतोलाई प्रहरीले उठाएर असपताल भर्ना गरेको थियो ।

शनिवार विहान अस्पताल पुगेका राजदूत प्रसादले महतोको पछिल्लो स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको थियो । भेटमा महतोले संविधानसभाको निर्वाचन मिति घोषणा गर्न सरकार पन्छिएकाले यस्तो कदम चाल्नुपरेको बताएको महतोका प्रेस सल्लाहकार निमेष कर्णले बताउनुभयो । राजदुत प्रसादसँगै भारतीय दुतावासका उपप्रमुख जयदिप मजुनदार पनि अस्पताल पुग्नुभएको थियो ।

अस्पतालमा उपचाररत अध्यक्ष महतोले निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पनःनिर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशश्त्र समुहलाई चुनावी प्रक्रियाबाट मुलधारमा ल्याउने, नेपाल-भारत सीमामा भारतीय रुपैयाँ सटही काउन्टर स्थापना, मल, खाद्यका लागि राहत, सरकार, संवैधानिक निकाय र अदालत लगायतका स्थानमा समानुपातिक समावेशी नियुक्ति लगायत १० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने समेत बताउनुभयो ।

यसैबिच, अध्यक्ष महतोको स्वास्थ्य स्थितीबारे जानकारी लिन गृहमन्त्री माधव घिमिरे र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक पनि विहान अस्पताल पुग्नुभएको थियो । भेटमा उहाँहरुले सद्भावनाले उठाएका मागप्रति सरकार गम्भीर रहेको दोहोर्याउनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74691/#sthash.nLeWEB83.dpuf

कमेन्टहरु
Loading...