पोखराको रत्न मन्दिर सर्वसाधारण लागि असार दोस्रो साता देखि

पोखरा, ३२ जेठ/पोखराको फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने तयारी थालेको छ । नेपाल ट्रष्टको कार्यालयले रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरि पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।

पर्यटकका लागि आवश्यक शौचालय, सिसि क्यामेरा जडान, टिकट घर जस्ता पूर्वाधार निर्माण प्रक्रिया, प्रवेश टिकट छपाउने काम लगाएतका काम अगाडी बढाएको नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि एक हजार, नेपाली नगरिकका लागि एक सय र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ । फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरवारको भित्री संरचना ढुङ्गामा कुँदिएका आकर्षक कलाले सजाइएको छ।

फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए। विगतमा पूर्वराजाहरूको पोखरा भ्रमणका क्रममा बस्ने गरिएको सो दरबार नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिको अवलोकनका लागि समेत बहुउपयोगी हुने विश्वास गरिएको छ ।

कमेन्टहरु
Loading...