एनसेलका टावरमा आक्रमण गर्नेलाई कारबाही हुन्छ ः गृहमन्त्री

सागर राज तिमिल्सिना
पोखरा, ३० जेठ/गृहमन्त्री शक्ति बस्नेतले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारबाही भएरै छोड्ने बताएका छन् । उनले विप्लव माओवादीले एनसेलका टावरमा आक्रमण गर्नु दुखद भएको र त्यसका बारेमा सुरक्षा निकाय संवेदनशील भएको बताए । उनले आक्रमणमा संलग्नमाथि कारबाही भएरै छोड्ने बताए ।

केही ठाउँमा भने प्रहरीले सुरक्षा दिएको तर गाउँ गाउँमा भएका टावरमा झुक्याएर आक्रमण गर्छन्, अब त्यसका लागि ध्यान केन्द्रित रहने उनको भनाई थियो । प्रेस सेन्टर नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सिडिओ सरुवा प्रकरणमा प्रधानमन्त्रीले आफ्नो राजीनामा मागेको बारे आफूलाई थाहा नभएको दाबी गरे । उनले भने, “सिडिओ सरुवा गर्ने अधिकार मन्त्रालयको हो र त्यही अधिकार प्रयोग गरेर सरुवा गरिएको हो, सरुवा प्रकरणले मेरो राजीनामा मागिन्छ भन्ने मलाई थाहा छैन ।”

पत्रकारको जिज्ञासामा उनले भने, “नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्रीको के छलफल भयो, त्यो म कहाँ आइपुगेको छैन, यो बारेमा धेरै कुरा गर्नुस् ।” गृहमन्त्री बस्नेतले दलहरुबीच सहमति आवश्यकता रहेको औल्याउँदै भन्नुभयो, सबै दलबीच सहमति आवश्यक भएको बेलामा कुनै पनि पार्टी फुट्न राम्रो हुँदैन ।

उनले संविधान कार्यान्यन गर्नु सरकारको मुख्य एजेण्डा भएको कारण कार्यान्वयनसँगै मधेसी मोर्चासँगको वार्ता प्रक्रिया सँगसँगै लैजाने जानकारी दिए । उनले भने, जायज माग लिएर आउँछन् भने संविधान संशोधन गरेर भए पनि अगाडि बढ्न सकिन्छ, सडकमा गएर हैन वार्ताबाटै निकास दिनुपर्छ ।

कमेन्टहरु
Loading...