हिमालको नक्कल हुनै सक्दैन ः फ्रान्सेली राजदूत कारमोन

पोखरा, २९ जेठ । नेपालका लागि फ्रान्सेली राजदूत एभेस कारमोनले नेपालको पर्यटन उद्योगको भविष्य उज्ज्वल रहेको बताउनुभएको छ । ‘पर्यटन उद्योगमा प्रतिष्पर्धा छ तर नेपालमा हिमाल छ र यसलाई कसैले नक्कल गर्न सक्दैन’, पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो,‘धेरै फ्रान्सेलीहरु नेपाल आउन चाहन्छन् र उनीहरु फेरि–फेरि पनि आउँछन् ।’

नेपालको हवाई सेवालाई युरोपेली युनियनले कालो सूचीमा राखेका कारण धेरैभन्दा धेरै फ्रान्सेली नागरिकहरुले नेपालको भ्रमण गर्न हिच्किचाएको उहाँको भनाइ थियो । नेपालले आफ्नो हवाई सेवामा सुधार गर्दै नेपाल एयरलायन्सले विभिन्न ठाउँमा उडान भर्ने हो भने युरोपका धेरै देशबाट पर्यटक ओइरिने उहाँको तर्क थियो । उहाँले नेपालको उड्डयन क्षेत्रमा अनुगमनको कमी भएकोले त्यसमा तत्काल सुधार हुुनुपर्नेमा जोड पनि दिनुभयो ।

हिमालको नक्कल हुनै सक्दैन ः फ्रान्सेली राजदूत कारमोन
हिमालको नक्कल हुनै सक्दैन ः फ्रान्सेली राजदूत कारमोन

पोखरा वरपरको क्षेत्रमा एउटा फ्रान्सेली सिनेमाको सुटिङ भएको सिनेमा आउँदो केही महिना भित्रै प्रदर्शनको तयारीमा रहेको जानकारी दिँदै उहाँले त्यसले पनि फ्रान्सेली जनताहरुमा नेपालप्रतिको मोह बढाउने आशा व्यक्त गर्नुभयो । जनता–जनताबीचको सम्बन्ध स्थापनाले लगानी लगायत अन्य क्षेत्रमा सहयोगको हात बढाउन सकिने उहाँको धारणा थियो ।
कार्यक्रममा फ्रान्सेली राजदूतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेपाल र पोखरामा फ्रान्सेली लगानी भित्र्याउनको लागि आफूहरु तयार रहेको धारणा राख्नुभयो ।

नेपालको जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा लगानीको ठूलो आवश्यकता र सम्भावना भएको चर्चा गर्दै उहाँले भन्नुभयो–‘ सम्भावना भएका क्षेत्रहरुमा लगानीको लागि हामी फ्रान्सका लगानीकर्तालाई आग्रह गर्दछौँ ।’ उहाँले भूकम्पपछि पनि पोखरा र आसपासका क्षेत्र सुरक्षित रहेकोले बढीभन्दा बढी पर्यटकहरुलाई नेपाल भ्रमणको लागि प्रेरित गर्न राजदूतसँग आग्रह पनि गर्नुभयो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखेले फ्रान्समा हुने ट्राभल र टे«ड फेयरहरुमा नेपाली सहभागिता हुन सके नेपालको प्रचार गर्न सजिलो हुने धारणा राख्नुभयो । उहाँले नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीबाट हटाउनको लागि भूमिका खेल्न राजदूतसँग आग्रह पनि गर्नुभयो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुलीले १० वर्षे द्धन्द्ध र नाकाबन्दीको समयमा पनि पर्यटकको सुरक्षामा कुनै कमी हुन नदिएको स्मरण गर्दै नेपाल आउने पर्यटकको बसाईमा कुनै समस्या नभएको सन्देश प्रवाहित गर्न राजदूतसँग आग्रह गर्नुभयो । ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल( टान ) पश्चिमाञ्चल च्याप्टरका उपाध्यक्ष दीपक अधिकारीले भूकम्पपछि फ्रान्सेली सेनाको एक टोलीले धौलागिरी पहिलो आरोहणमा आएर नेपाल सुरक्षित भएको सन्देश दिएकोमा धन्यवाद ज्ञापन गर्दै यहाँका पदयात्रा सुरक्षित रहेको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी, कार्य समिति सदस्यहरु र पर्यटन उद्योगसँग आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...