भयरहित र निष्पक्ष निर्वाचनको माग गर्दै नागरिक समाजद्वारा धर्ना

कास्की, १० जेठ /भयरहित र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न माग गर्दै नागरिक समाजले शुक्रबार एकघण्टासम्म पोखराको सहिदचोकमा धर्ना दिएका छन् । शान्तिको लागि नागरिक समाजको सञ्जाल र शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा ११ देखि १२ बजेसम्म भएको धर्नामा मानवअधिकारकर्मी, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी, तेस्रोलिङ्गी लगायत सहभागि थिए ।

DSC03102धर्नापछि कोणसभामा बोल्दै मानवअधिकारकर्मी टेकनाथ बरालले चारदलको सिण्डिकेटबाट बनेको असंवैधानिक सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै नागरिक समाजले राजनीतिक दल र सरकारलाई जिम्मेवारी बनाउन आन्दोलन गर्नुपर्ने बताए । पश्चिमाञ्चल मानवअधिकार रक्षक सञ्जालका संयोजक अधिवक्ता रामप्रसाद घिमिरेले अन्तरिम संविधान कुल्चेर बनेको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा अन्यौलता थपेको बताए ।

महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष नन्दकला नेपालीले देशलाई निकास दिनको लागि नागरिक समाजले निरन्तर आन्दोलन गर्नु पर्नेमा जोड दिईन् । जिल्ला अदालत बार एशोशिएसनका अध्यक्ष कमलप्रसाद अर्यालले सरकार आफ्नो कार्यदिशामा अगाडि बढ्न नसकेको बेला नागरिकलाई जनदवाव सिर्जना गर्न बाध्य भएको बताए । कार्यक्रममा महिला मानवअधिकार एलाइन्सका क्षेत्रीय सचिव जानुका शर्मा, काहुँराष्ट्रका अध्यक्ष बासुदेव बराल, प्रेस चौतारीका अध्यक्ष श्याम कुँवर, परिवर्तन नेपालका विन्दिया गौतम लगायतले राजनीतिक दलहरु जिम्मेवार हुन नसक्दा र दलीय स्वार्थमा अल्मलिदा मुलुकमा अराजकता सिर्जना भएकाले सरोकारवाला निकायले एकजुट भएर आन्दोलन गर्नु पर्नेमा जोड दिए ।

शान्तिको लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक एवं सञ्जालका महासचिव शिव खकुरेलले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...