अन्तर्राष्ट्रिय न्यायालयमा बुद्धको प्रतिमा

नविन पोखरेल/ लन्डन, जेष्ठ १० – पिस प्यालेसको नामले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । पिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी जुन तेश्रो साता स्वीट्जरल्याण्डमा हुने एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन अघि १९ जुनमा प्रतिमा राख्ने तय भएको एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका  संयोजक सुरेन्द्र श्रेष्ठले जनाए । त्यहां राख्न २.५ फिट अग्लो प्रतिमा चार लाख असी हजार रुपैयांमा खरिद भइसकेको जनाउंदै श्रेष्ठले बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलमार्फत बुद्धको प्रतिमा हस्तान्तरण गरिने बताए । प्रतिमा न्यायाधिशहरु रहेको भवनको तेश्रो तल्लामा राखिने छ ।

buddha_20130524014134कसरी सफल भयो योजना ?

सन् २००५ डिसेम्बर पहिलो साता हो । बेलायतस्थित युनिभर्सिटी अफ ससेक्स्बाट अन्तर्राष्ट्रिय अपराध कानुनमा एलएलएम गर्दैै गर्दा श्रेष्ठ शैक्षिक भ्रमणका सिलसिलामा हेगस्थित पिस प्यालेस भवन पुगेका थिए । उनले सन् १९१३ मा निर्मित उक्त प्यालेसभित्र विश्वकै ख्यातिप्राप्त व्यक्तिहरुका पूर्ण तथा अर्धकद शालिकहरु बडो आकर्षक ढंगले राखिएको देखे । नेल्सन मण्डेला, नेहरु, महात्मा गान्धीको शालिक, अर्जेन्टिनाले दिएको क्राइष्ट, अमेरिकाले दिएको न्यायमुर्ति, अफ्रिकाबाट प्राप्त हात्तीको पूर्ण दुईवटा दाह्रा, चीनले दिएको ठूला गलैंचा लगायत असंख्य उपहार भेटेपनि नेपालको केही नाम निसाना थिएन । उनी घोत्लिए, ‘पिस प्यालेसमा वुद्धको मुर्ति राख्न पाए कति सान्दर्भिक हुन्थ्यो होला ?’

समय बित्दै जांदा १७ अक्टोबर २०११ का दिन नेपाल सरकारले सन् २०१२ लाई लुम्विनी भ्रमण वर्ष मनाउने निर्णय गर्यो । श्रेष्ठले त्यही दिन पिस प्यालेस स्वामित्व लिएको

कर्नेगी फाउण्डेशनमा इमेल लेखेर त्यहां अहिलेसम्म बुद्धको प्रतिमा भए नभएको जानकारी दिन आग्रह गरे । अक्टोबर २८ मा फाउण्डेशनले हाल सम्म प्रतिमा नरहेको र यदि नेपाल सरकारले अनुरोध गरे प्रतिस्थापन गर्न सकिने जवाफ पठाएपछि श्रेष्ठले एनआरएनए यूकेको सिफारिसमा एनआरएनए आइसीसीलाई यसबारे अवगत गराए । पछि एनआरएनए आइसीसीले नेपाल सरकारलाई २६ डिसेम्बर, २०११ मा औपचारिक अनुरोध गर्यो । बीचमा लामो प्रयासपछि १७ जनवरी, २०१३ मा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्का रजिष्टार फिलिप डि कोभरिअरबीच छलफल भएर ध्यान मुद्रामा बसेको झल्कने बुद्ध प्रतिमा प्रतिस्थापन योजना सफल भएको हो । उक्त भवनभित्र पिस प्यालेस लाइब्रेरी, हेग एकेडेमी अफ इन्टरनेशनल ल लगायत अवस्थित भएकाले त्यहां वर्षेनी लाखौं पर्यटक र विद्यार्थी ओइरिन्छन् । प्रतिमा राख्न कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र सल्लाहकार डा. कविताराम श्रेष्ठको पनि उल्लेख्य पहल छ ।

– See more at: http://www.ekantipur.com/np/2070/2/10/full-story/368663.html#sthash.UNgq6pI5.dpuf

कमेन्टहरु
Loading...