हवाइ दुर्घटनासँगै वीमासम्बन्धी विवाद बढ्यो

रमेश घिमिरे

५ जेठ, काठमाडौं । के तपाईले वीमा गर्नुभएको छ ? छैनभने वीमा गर्नुहोला भन्दै वीमा गराउने कम्पनी एवं एजेन्टहरुको नेपालमा कुनै कमी छैन । गाडी र हवाइजहाजमा यात्रा गर्दा दुर्घटना भैहाले वीमा पाइने आश्वासन पनि कम्पनीहरुले दिने गरेकै छन् । तर, अश्वासन दिइएजस्तै वीमावापत पाउनुपर्ने रकम लिन चाँहि त्यति सजिलो छैन ।

पछिल्लो समय नेपालमा हवाई दुर्घटना बढेपछि पुनर्बीमक कम्पनीले नेपालमा हवाई बीमा स्वीकार्न मानिरहेका छैनन् । यहाँ बुद्ध एयरबाहेक सबैजसोले पुराना विमानबाट सेवा दिने गरेका छन् । सबैभन्दा बढी चलेको कम्पनी बुद्ध भए पनि बुद्धको विमान अहिलेसम्म एकपटक मात्र दुर्घटना भएको छ । एउटै आकाशमा बुद्धको जहाज दुर्घटना नहुनु तर अरुको हुनुको पछाडि मौसम खराब, चरासँग ठोक्किनु वा पाइलटको कमजोरी मात्रै जिम्मेवार नभई विमानको गुणस्तर जिम्मेवार रहेको विश्लेषकको भनाइ छ ।

plane-2हवाइ दुर्घटनाको क्षतिबापत ६ करोड रुपैयाँ पुनर्बीमकबाट भुक्तानी नपाएपछि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशनअनुसार सो बराबर रकम प्रोभिजन गर्नु परेको थियो । रन वेमै दुर्घटना भएको सो कम्पनीको बीमित विमानको सम्बन्धमा स्थलगत निरीक्षण गरेपछि विदेशी कम्पनीले रन वे आधारभूत मापदण्ड नपुगेको भन्दै दाबी भुक्तानी गर्न अस्वीकार गरेको छ ।सबैभन्दा बढी संख्यामा नेपाल एयरलाइन्सका जहाज दुर्घटना हुने गरेका छन् । यस कम्पनीका जहाज पुराना हुनुको साथै व्यवस्थापन राम्रो नभएको आरोप लाग्ने गर्दछ । गत विहीबार अवतरणको क्रममा जोमसोममा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ । सबै यात्रु सकुशल रहेको उक्त घटनाको कारणबारे समेत यथार्थ खुलाइएको छैन । हरेक पटक छानबिन आयोग गठन गर्ने र तिनले सत्य कुरा लुकाउने गरेको विज्ञहरु बताउँछन् ।

पुराना विमान मर्मत गरेर सञ्चालन गर्दा लागत बढ्ने हुँदा नागरिक उड्डयन प्राधिकरणका अधिकारीको मिलेमतोमा विमान सेवा कम्पनीहरुले टालटुल पारेर उडान भर्ने गरेको जानकारहरु बताउँछन् । यो कुरा बुझेपछि विदेशी पुनर्बीमक कम्पनीले यहाँको हवाइजहाज र हेलिकोप्टरको बिजनेश लिन नमान्ने, बढी पि्रमियम खोज्ने तथा स्थानीय एजेन्ट बीमा कम्पनीलाई बढी शर्त तेर्साउने गरेका छन् ।हालै नेपाली सेनाले हवाइ बीमाका लागि टेण्डर आह्वान गरेकामा पुनर्बीमकको प्रतिवद्धता पाउन नसकेका कारण नेपाली बीमा कम्पनीहरुले प्रस्ताव नै पेश गर्न सकेनन् । चारवटा बीमा कम्पनीले प्रस्ताव पेश गर्ने प्रक्रिया सुरु गरे पनि शिखर इन्स्योरेन्सले मात्र विदेशी कम्पनीलाई सहमत गराई प्रस्ताव दर्ता गर्न सफल भएको थियो । यो घटनाबाट नेपाली हवाइ सेवामा विदेशी कम्पनीको विश्वास गुम्दै गएको प्रष्ट हुन्छ ।

हवाइ नीति ०६३ ले पुराना जहाज सञ्चालन रोक्न विभिन्न व्यवस्था गरे पनि त्यसको पालना हुन सकेको छैन । विमान खरीद वा लिजमा लिँदा ५ बर्ष वा सोभन्दा कम उमेर भएकालाई प्रोत्साहित गरिने नीतिमा उल्लेख छ । यस्तै इकोनोमिक डिजाइन लाइफको आधाभन्दा बढी उमेर पुगेका प्रेसराइज्ड तथा नन् प्रेसराइज्ड दुबै प्रकारका वायुयान ‘इष्ट्रचरल इन्टिगि्रटी प्रोग्राम’ तयार गरी सोका आधारमा मात्र उडान सञ् चालन गर्न दिइने व्यवस्था छ । नेपालमा मानवीय लापरबाही वा नियोजितरुपमा गरिएका क्षतीबापत बीमा कम्पनीबाट दाबी भुक्तानी गर्ने घटना बढेपछि पुनर्बीमा कम्पनी पुनर्बीमा वापतको भुक्तानी दिन कडाइ गरेका छन् । नेपाली कम्पनीहरुले १/२ प्रतिशत बीमा यहाँ गरेर अरु पुनर्बीमा कम्पनीमा पठाउने गर्दछन् । बिमितको क्षति भएपछि यहाँ कम्पनीहरुले बीमा दाबी भुक्तानी दिने तर पुनर्बीमकबाट शोधभर्ना नपाउने स्थिति देखिएको छ । ठूलो रकमको बीमा पूर्णतः पुनर्बीमकमा गराई नेपाली कम्पनीले एजेन्टको रुपमा कमिसन मात्र खाने गर्दछन् । तर त्यस्ता पुनर्बीमकले यहाँ आएर घटनाको स्थलगत निरीक्षणपछि दाबी भुक्तानी दिन अस्वीकार गर्ने गरेका छन् ।

बीमा कम्पनीले तोकिएका मापदण्ड र आवश्यक नियम पालना गरेर काम गर्दा गर्दै काबुबाहिरको परिस्थितिका कारण दुर्घटना भएको क्षति व्यहोर्दछ । नियमविपरीत उडान गरेको, मापदण्ड नपुगेको रन वेमा गुडाएको वा आवश्यक मर्मत नगरी उडान भरेको कारण भएको दुर्घटनाको क्षतिपूर्ति दिने गरी बीमालेख जारी गरिएको हुँदैन ।
हवाइबाहेका बीमामा पनि नेपालीमाथि पुनर्बीमकले अविश्वास गर्न थालेका छन् । यहाँ प्रमोटरका कम्पनीको दाबी मिलेमतोमा भुक्तानी हुने गरेको पाएपछि पुनर्बीमक सशंकित भएका हुन् । कम्पनीले नियुक्त गरेको सर्भेयरले तयार गरेको क्षतिको मूल्यांकनको आधारमा कम्पनीले क्षतिपूर्ति दिने गर्दछ । प्रमोटरका कम्पनीमा सर्भेयरले मिलेमतोमा बढी क्षति देखाउने तथा सर्वसाधारणको क्षति भएको घटनामा भने कम देखाउने विकृति पनि देखिन्छ । सर्वसाधारणको क्षति कम देखाइदिएमा कम्पनीहरुले पुनः आफूलाई काम दिने भएको हुनाले सर्भेयरले सकेसम्म कम क्षति देखाउन खोज्ने गर्दछन् । हिमालयन स्न्याक्स कम्पनीको भ्रेपलाञ्चोकस्थित चाउचाउ कारखानामा भएको आगलागी घटनामा हतारमा क्षतिपूर्ति दिएको भन्दै गत वर्ष एभरेष्ट इन्स्योरेन्सलाई बीमा समितिले कारबाही गरेको थियो ।

प्रमोटर वा पहुँचवाला व्यक्तिको दाबी भुक्तानी गर्न सर्भेयरको प्रतिवेदन नपर्खने कम्पनीहरुले सर्वसाधारणको भुक्तानी भने वर्षौसम्म झुलाउने गरेका छन् । प्रहरी रिपोर्ट र सर्भेयरको प्रतिवदेन प्राप्त भएपछि पहिले प्रक्रिया अघि बढ्दैछ भन्ने र ६/७ महिना पुगेपछि बीमालेखको दायरामा नपरेको भन्दै भुक्तानी दिन अस्वीकार गर्ने गरेका घटना बीमा समितिमा परेका उजुरीबाट देखिन्छ । सर्भेयरले पनि बिमितसँग अतिरिक्त रकम लिएर फरक मूल्यांकन गर्ने वा घटनाको प्रकृति बढी विश्वासिलो बनाइदिने तथा जसले अतिरिक्त रकम दिदैन, त्यस्ता ग्राहकले दाबी पाउन मुश्किल पर्ने गरी प्रतिवेदन तयार गर्ने गरेको गुनासो पनि सुनिन्छ । सरकारी निकायमा दर्ता गराउनु नपर्ने जेनेरेटरलगायतका मेशिनरी सामान नबिगि्रकन वा हेलचेक्र्याईंले बिग्रेको अवस्थामा पनि सर्भेयर र बीमा कम्पनीका कर्मचारीको मिलेमतोमा क्षतिपूर्ति लिने विकृति बजारमा रहेको जानकारहरु बताउँछन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/72484/#sthash.MuxGrzAf.dpuf

कमेन्टहरु
Loading...